काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
आज बिहान मात्र पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई म्याद थपका लागि अदालतमा पेश गरिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री सुधन गुरुङले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा बरामद भएको रकमको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरिसकेको छ ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए भने कतिपय रकम प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरमा जलेको रकमको विषयमा अनुसन्धान जारी राखेको छ र आवश्यक प्रमाण संकलन गरिरहेको छ ।