Butwal Today

रवि लामिछानेको अर्को तारेख वैशाख १४ गते तोकियो

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध जारी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले आगामी वैशाख १४ गतेका लागि नयाँ तारेख तोकेको छ ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लामिछाने आइतबार तारेख बुझ्न अदालत पुगेका थिए । उनीविरुद्ध काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा दायर भएको छ ।

उक्त प्रकरणमा स्वर्णलक्ष्मी सहकारीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका छन् । लामिछानेविरुद्ध २०८१ पुस २१ गते संगठित रूपमा सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।

अभियोगअनुसार गोरखा मिडिया नेटवर्क मार्फत कानुनविपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ निकासा गरिएको दाबी गरिएको छ । सोही रकम बराबरको बिगो सरकारी वकिलले माग दाबी गरेका छन् ।

हाल लामिछाने थुनाबाहिर रही मुद्दा लडिरहेका छन् । उनी रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?