Butwal Today

केपी ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं। नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो।

बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले जानकारी दिए। उनले एमालेले आजबाट सडक प्रदर्शन गर्ने बताएका छन्।

‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ,’ उनले समाजिक सञ्जालमार्फत् भनेका छन्।

बालेन नेतृत्वको सुधन गुरूङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको उनले टिप्पणी गरे।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ। प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ उनले भनेका छन्।

अहिले बिहान ८ः३० वजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइने उनले बताए।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू दुवै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?