Butwal Today

७ धार्मिक विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने

१२ चैत्र २०८२, बिहीबार
अ+
अ-

चितवन ।  जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसइईमा सहभागी हुन लागेका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४  विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसइई परीक्षामा सामुदायिक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन लागेका हुन ।

यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बौद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४ , भरतपुरको वैकुण्ठ प्रम बौद्धिक विद्या प्रतिष्ठानका ७  र भरतपुरको परभानन्द स्मृति बौद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परीक्षामा सहभागी हुने छन् ।

यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यमिक विद्यालयका ११ जना विद्यार्थी सहभागी हुने छन् ।

एकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका  १२ हजार ३४९ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

यस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड वृद्धिका विद्यार्थी रहेको उनले बताए । परीक्षामा सहभागी हुने मध्ये प्राविधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टि विहीन ३ जना, सुस्त श्रवण ८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

उनका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरूले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक विद्यालय र ८ संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ ।

केन्द्राध्यक्ष नियुक्तिको प्रक्रिया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उनले बताए । उनका अनुसार गत वर्षको एसइईमा भन्दा यस वर्ष ७ विद्यार्थी कम सहभागी हुन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?