© 2026
बुटवल । रुपन्देहीमा साढे ११ बजेसम्म करीब ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुपन्देही जिल्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा मतदान भैरहेको छ ।
मतदानका लागि बिहानैदेखि मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् ।
मतदानस्थलहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् । जिल्लाभर २ सय १३ मतदान स्थलमा ७ सय ३६ मतदान केन्द्र छन् ।