Butwal Today

चुनावी अन्तिम घडी: रुपन्देहीमा कस्तो होला चुनाबी नतिजा ?

१८ फाल्गुन २०८२, सोमबार
अ+
अ-

बुटवल  । फागुन २१ गते नजिकिँदै जाँदा रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा चुनावी माहौल उत्कर्षमा पुगेको छ ।

ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म घरदैलो, कोणसभा र मतदाता भेटघाटका कार्यक्रम लगभग सकिएसँगै राजनीतिक बहस पनि चुलिएको छ । दल र उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

निर्वाचन आचारसंहिताअनुसार सोमबार राति १२ बजेदेखि प्रचारप्रसार पूर्ण रूपमा बन्द हुने भएकाले त्यसअघि मतदातासम्म आफ्नो सन्देश पु¥याउन उम्मेदवारहरू सक्रिय देखिएका छन् ।

यस पटक मतदाताको प्राथमिकता विकास, सुशासन र भरोसायोग्य नेतृत्वतर्फ केन्द्रित देखिन्छ । आधारभूत पूर्वाधार, रोजगारी सिर्जना, सेवा प्रवाहको सहजता र पारदर्शितालाई मुख्य मुद्दाका रूपमा उठाइएको छ ।

संगठनात्मक हिसाबले क्षेत्र नम्बर १ र ४ मा नेपाली काँग्रेसको पकड बलियो देखिन्छ भने क्षेत्र नम्बर २ र ३ मा नेकपा (एमाले) अग्रस्थानमा रहेको आङ्कलन गरिएको छ ।

उता क्षेत्र नम्बर ५ मा भने मुख्य दलहरूबिच त्रिपक्षीय प्रतिस्पर्धा रोचक बनेको छ, जसले अन्तिम नतिजासम्म उत्सुकता कायम राख्ने देखिन्छ । तर यसपटक संगठनले भन्दा पनि मतदाताको मनले निर्णय गर्ने सम्भावना बलियो छ।

क्षेत्र नम्बर १: स्थानीय विकासको प्रभाव

रुपन्देही–१ मा नेपाली काँग्रेसका हिरा केसी, एमालेका दधिराम न्यौपाने, राप्रपाका प्रज्वल बोहोरा र रास्वपाका सुनिल लम्साल प्रतिस्पर्धामा छन् ।

देवदह नगरपालिकाका पूर्वप्रमुख केसीले सडक कालोपत्रे, कृषि सडक सञ्जाल विस्तार, खानेपानी आयोजना र सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा उल्लेखनीय काम गरेको दाबी काँग्रेसको छ नगर स्तरीय सडकको स्तरोन्नति र वडा–वडामा स्वास्थ्य चौकी सुधारले मतदातामा सकारात्मक प्रभाव पारेको देखिएको छ ।

देवदह क्षेत्रका स्थानीय मतदाता कृष्ण प्रसाद आचार्य भन्छन्, “नगरपालिकामा काम गरेको अनुभव सङ्घमा पनि काम लाग्छ भन्ने विश्वास छ ।”
उम्मेदवार केसी लामो समयदेखि क्षेत्रीय राजनीतिमा सक्रिय रहेकाले गाउँ–टोलसम्म व्यक्तिगत सम्बन्ध बलियो रहेको मानिन्छ ।

उनको चुनावी एजेन्डा ठूला भाषणभन्दा पनि स्थानीय आवश्यकता–सडक, कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित छ । त्यस्तै रुपन्देही–१ परम्परागत रूपमा काँग्रेसको प्रभाव रहेको क्षेत्र मानिन्छ । पार्टीको वडा तहसम्मको सङ्गठन, भातृ सङ्गठन र पुरानो मताधार केसीको पक्षमा देखिन्छ ।

यस क्षेत्रमा एमाले, रास्वपा र राप्रपाका उम्मेदवार अलग–अलग प्रतिस्पर्धामा छन् । विपक्षी मत विभाजित हुँदा काँग्रेस उम्मेदवारलाई लाभ पुग्ने विश्लेषण गरिएको छ ।

एमालेले भने सङ्गठनात्मक बल र केन्द्र–प्रदेश–स्थानीय तहबिच समन्वयको मुद्दा अघि सारेको छ । रास्वपाले नयाँ विकल्प र पारदर्शिताको नारालाई प्राथमिकता दिएको छ । तर प्रारम्भिक माहौलले काँग्रेस केही अघि देखिएको विश्लेषण गरिएको छ ।

क्षेत्र नम्बर २: राष्ट्रिय नेतृत्व र नयाँको परीक्षा

रुपन्देही–२ मा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल मुख्य प्रतिस्पर्धीका रूपमा छन् । काँग्रेसका चुन्नप्रसाद पौडेल, नेकपाका विश्व दीप पाण्डे र रास्वपाका सुलभ खरेल चुनावी दौडमा छन् ।

पौडेलले बुटवल–नारायणगढ सडक विस्तार, औद्योगिक कोरिडोर पूर्वाधार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण र विभिन्न पुल–सडक आयोजनामा भूमिका खेलेको विषय एमालेले जोडदार रूपमा उठाएको छ । बुटवल वडा नम्बर ११ की गृहिणी मिना शर्मा भन्छिन्, “बजेट ल्याउन सक्ने राष्ट्रिय स्तरको नेता भएकाले निरन्तरता चाहिएको छ ।”

पौडेल उपाध्यक्ष र पूर्वअर्थमन्त्रीको हैसियतले केन्द्रमा पहुँच भएको नेता भनेर चिनिन्छन् । सङ्घीय बजेट, ठूला आयोजना र नीतिगत निर्णयमा प्रत्यक्ष भूमिका खेल्न सक्ने क्षमताले मतदातामा ‘काम गराउन सक्ने’ नेताको छवि बनाएको छ ।

रुपन्देही–२ एमालेको परम्परागत रूपमा बलियो क्षेत्र मानिन्छ । वडा तहदेखि क्षेत्रीय संरचनासम्म सुदृढ सङ्गठन, कार्यकर्ता परिचालन क्षमता र मतदान दिनसम्म मत सुरक्षित राख्ने रणनीतिले उनलाई फाइदा पु¥याउने आङ्कलन छ ।

त्यस्तै पौडेल लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय छन् । अर्थ मन्त्रालय सम्हालेको अनुभव, नीति निर्माणमा संलग्नता र विकास योजनाको निरन्तरताको प्रतिबद्धताले ‘स्थायित्व’ चाहने मतदातालाई आकर्षित गरेको देखिन्छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा शेयर बजारमा सुधार देखिएको तथा उद्योगी–व्यवसायीका माग सम्बोधन भएको दाबी एमाले पक्षले गर्दै आएको छ । यही पृष्ठभूमिका कारण यस पटक काँग्रेस र माओवादी समर्थक उद्योगी–व्यवसायीहरूको मतसमेत विष्णु प्रसाद पौडेलतर्फ आकर्षित हुन सक्ने संकेत देखिएको छ ।

यस क्षेत्रमा काँग्रेस, नेकपा र रास्वपाका उम्मेदवार छुट्टाछुट्टै मैदानमा छन् । विपक्षी मत विभाजन हुँदा सङ्गठित एमाले उम्मेदवारलाई लाभ पुग्ने विश्लेषण गरिएको छ ।

प्रदेश र स्थानीय तहमा एमाले नेतृत्व भएका ठाउँसँग समन्वय गरी योजनालाई तीव्रता दिने प्रतिबद्धता पौडेलले दोहोर्याउँदै आएका छन् । विकास योजनाको कार्यान्वयनमा सहकार्यको सन्देशले मतदातालाई प्रभाव पारेको छ ।

यी आधारहरूका कारण रुपन्देही–२ मा विष्णु पौडेल अग्रस्थानमा रहेको विश्लेषण गरिएको छ । तथापि, अन्तिम निर्णय भने फागुन २१ को मतले नै गर्नेछ । काँग्रेसले भने स्थानीय बेरोजगारी र सेवा प्रवाहमा सुधारको मुद्दा उठाएको छ भने रास्वपाले सुशासन र पारदर्शितालाई चुनावी केन्द्र बनाएको छ ।

क्षेत्र नम्बर ३: नगर विकासको निरन्तरता

रुपन्देही–३ मा एमालेका वासुदेव घिमिरे, काँग्रेसका सुशील गुरुङ, राप्रपाका गौरव बोहोरा र रास्वपाका डा. लेखजङ थापा प्रतिस्पर्धामा छन् ।

तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरेले सडक विस्तार, ढल व्यवस्थापन, पार्क निर्माण, नगरको सौन्दर्यीकरण, सरसफाइ र आन्तरिक राजस्व वृद्धि जस्ता क्षेत्रमा देखिने सुधार गरेका थिए ।

सिद्धार्थनगरका स्थानीय व्यवसायी हरि अधिकारी भन्छन्, “मेयर हुँदा देखिएको विकास सङ्घमा पनि निरन्तर होस् भन्ने चाहना छ ।” काँग्रेस र अन्य दलले रोजगारी, शिक्षा र स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका छन् । तर हालको समीकरणले एमाले बलियो देखिएको छ ।

रुपन्देही–३ एमालेको प्रभावशाली क्षेत्रमध्ये एक मानिन्छ । वडा तहसम्म सक्रिय सङ्गठन, जनवर्गीय सङ्गठनको परिचालन र चुनावी संरचना व्यवस्थित हुनु घिमिरेका लागि बलियो आधार हो । स्थानीय कार्यक्रममा नियमित उपस्थिति, नागरिकसँग प्रत्यक्ष संवाद र सरल व्यवहारका कारण उनको व्यक्तिगत लोकप्रियता उल्लेखनीय रहेको पाइएको छ ।

त्यस्तै यस क्षेत्रमा काँग्रेस, राप्रपा र रास्वपा छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । विपक्षी मत विभाजन हुँदा सङ्गठित मत घिमिरेको पक्षमा केन्द्रित हुन सक्ने विश्लेषण गरिएको छ ।

यी आधारहरूका कारण रुपन्देही–३ मा वासुदेव घिमिरेलाई अग्रस्थानमा रहेको दाबेदारका रूपमा हेरिएको छ । अन्तिम निर्णय भने मतदान परिणामले नै तय गर्नेछ ।

क्षेत्र नम्बर ४: सामाजिक सन्तुलन र समावेशिता

रुपन्देही–४ मा काँग्रेसका आशुतोष मिश्र, एमालेका प्रमोद यादव, जसपाका सर्वेन्द्रनाथ शुक्ला र रास्वपाका कन्हैया बानियाँ प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा सामाजिक विविधता उच्च भएकाले समावेशी नेतृत्व महत्त्वपूर्ण मानिन्छ । काँग्रेसले शिक्षा, स्वास्थ्य र कृषि पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । स्थानीय मतदाता रामबाबु यादव भन्छन्, “समुदायलाई समेट्ने नेतृत्व चाहिएको छ ।”

रुपन्देही–४ मा काँग्रेसको ऐतिहासिक प्रभाव रहेको मानिन्छ । वडा तहसम्म सक्रिय सङ्गठन, पुरानो मतदाता आधार र भातृ–शुभेच्छुक संस्थाको परिचालन क्षमता मिश्रका लागि महत्त्वपूर्ण बल हो । मिश्रले सबै समुदायलाई समेट्ने समावेशी नेतृत्वको सन्देश दिएका छन्, जसले व्यापक समर्थन जुटाउने आधार तयार गरेको छ ।

त्यस्तै उनले कृषि उत्पादनको बजारीकरण, साना सिँचाइ आयोजना, सामुदायिक विद्यालय सुधार, स्वास्थ्य सेवा विस्तार र सडक स्तरोन्नतिलाई प्राथमिकता दिएका छन् । स्थानीय आवश्यकता पहिचान गरेर एजेन्डा प्रस्तुत गर्नु उनको बलियो पक्ष मानिन्छ ।

एमालेले सङ्गठन र स्थायित्वको मुद्दा अघि सारेको छ भने रास्वपाले वैकल्पिक राजनीतिको आवश्यकता औँल्याएको छ । प्रारम्भिक सङ्केतले काँग्रेस केही अघि देखिएको विश्लेषण गरिएको छ ।

क्षेत्र नम्बर ५: त्रिपक्षीय प्रतिस्पर्धा

रुपन्देही–५ मा एमालेका खिमलाल भट्टराई, काँग्रेसका भरत शाह र रास्वपाका तौफिक अहमद खानबिच कडा प्रतिस्पर्धा छ । युवा मतदाता निर्णायक बन्ने अनुमान छ ।

स्थानीय युवा सागर खनाल भन्छन्, “हामी काम र जबाफदेहिता हेरेर अन्तिम निर्णय लिन्छौँ ।” यसअघि २०७९ को चुनावमा यस क्षेत्रबाट एमालेका वासुदेव घिमिरेले चुनाव जितेका थिए भने २०७४ सालमा काँग्रेसका भरत शाह निर्वाचित भएका थिए ।

अहिले भने प्रतिस्पर्धा तीव्र देखिएको छ । यो क्षेत्र अन्तिम मतगणनासम्म रोचक रहने देखिएको छ ।

दलहरूका आ–आफ्नै दाबी

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले रुपन्देहीका मतदाताले विकास र लोकतान्त्रिक मूल्यलाई रोज्ने विश्वास व्यक्त गरे ।

“हामीले स्थानीय तहदेखि सङ्घसम्म देखिने काम गरेका छौँ । क्षेत्र १ र ५ मा जित निश्चित छ, अन्य क्षेत्रमा प्रतिस्पर्धामा छौँ, सकारात्मक परिणाम आउनेमा विश्वस्त छौँ,” उनले भने ।

नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पार्टीको सङ्गठन, नेतृत्वको विश्वसनीयता र विकासको निरन्तरताका आधारमा रुपन्देहीका पाँच वटै क्षेत्रमा जित हात पार्ने दाबी गरे । “मतदाताले कामको मूल्याङ्कन गर्नुहुन्छ, भावनात्मक होइन, परिणाममुखी मत आउँछ,” उनको भनाइ छ ।

नेकपा रुपन्देहीका जिल्ला संयोजक विश्व दीप पाण्डेले जनमुखी विकास आवश्यक रहेकोले आफ्नो दलको पक्षमा राम्रो माहौल देखिएको बताए । “विकास जनताको पहुँचमा पुगेको छैन, त्यसलाई सुनिश्चित गर्न हाम्रो पार्टीलाई मतदाताले विश्वास गर्ने अपेक्षा छ,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सन्तोष गिरीले परम्परागत दलप्रति जनतामा बढ्दो असन्तुष्टि रहेको दाबी गरे । “सुशासन, पारदर्शिता र जबाफदेहिता हाम्रो मूल एजेन्डा हो । युवाको मतले यस पटक रुपन्देहीका पाँच वटै क्षेत्रमा नयाँ सन्देश दिनेछ,” उनले भने ।

बुटवल टुडे दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?