© 2026
२०६१ सालमा कमला तिवारीको बिहे रुपन्देही शंकरनगरका मनीष पन्थसँग भयो ।
त्यति बेला कमला २२ वर्ष पुगेकी थिइन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं.१० माइतीघर भएकी कमलाका आमा टीकादेवी र बाबा चोलाकान्त हुन् । ठुलो घर परिवारकी जेठी छोरी कमलालाई माइतीघरको बोझ नहुने कुरै भएन ।
घरतिर आएपछि पनि जेठी बुहारी नै भइन् । कमलाले गाउँकै जनप्रिय माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । पढाई बाहेक उनले अतिरिक्त क्रियाकलापमा समेत सक्रियता देखाउँथिन् ।
हाजिरी जवाफ, वक्तृत्वकला, वादविवाद, हिज्जे, खेलकुद प्रतियोगिताहरूमा भाग लिएपछि कुनै न कुनै पुरस्कार हात पार्थिन् । सानैदेखि पढाई र अतिरिक्त क्रियाकलापमा तगडा कमलाले बुटवल बहुमुखी क्याम्पस, रुपन्देहीबाट २०७१ सालमा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरिन् ।
नेपाल ल क्याम्पस काठमाडौँबाट एलएलवी उत्तीर्ण गरिन् २०७५ सालमा । वकालत गर्ने प्रमाणपत्र धारी कमलाले फुर्सदको समयमा वकालतको काम समेत गर्छिन् । खासमा उनी फोटो तथा भिडियोग्राफर हुन् ।
२०७३ सालदेखि आफ्नै नाममा श्रीनगर फोटो स्टुडियो सञ्चालन गरी फोटो तथा भिडियोग्राफीको सेवा दिँदै आएकी छिन् । इन्डोरमात्र हैन, बिहे, भोज, पूजा, ब्रतबन्ध तथा विविध सामाजिक एवम् सांस्कृतिक कार्यक्रमहरूमा आउटडोर फोटो तथा भिडियोग्राफी खिच्न पुग्छिन् कमला ।
त्यति मात्र होइन उनले फोटो तथा भिडियो इडिटीङ्गको काम समेत गर्छिन् । उनको फोटोग्राफी कलाले कैयौंपटक पुरस्कार सम्मान समेत प्राप्त गरेको छ । नेपाल फोटोग्राफर महासङ्घको केन्द्रीय संस्थापक सदस्य, लुम्बिनी फोटोग्राफर सङ्घको आजीवन सदस्य तथा कानुनी सल्लाहकार समेत छिन् । विगत ६ वर्षदेखि श्री लिगल सर्भिस एन्ड रिसर्च सेन्टरमा पनि समाहित छिन् ।
महिला उद्यमशीलतामा जोड दिने कमलाले घरधन्दा, व्यवसाय र सामाजिक सेवामा समेत उत्तिकै समय दिएकी छिन् । ‘महिला पहिला’ बनाउने अभियानमा सक्रिय उनले महिला साक्षरता, कानुनी शिक्षा र सेवा दिँदै आएकी छिन् ।
फुर्सदको समयमा अध्ययन गर्न रुचाउने उनले आफ्ना श्रीमानको फिल्मी क्षेत्रलाई समेत साथ, सहयोग र समर्थन गर्छिन् । श्रीमान् मनीषसँगको वैवाहिक साथ, समर्थन र सहयोगबाट छोरा स्वभाव र छोरी स्पन्दनलाई सन्तानका रूपमा भेटेकी छिन् ।
छोरो स्पन्दनलाई विज्ञानतर्फ कक्षा ११ बुटवलमा र छोरीलाई फिल्मी विषयमा अध्ययन गर्न भारत पठाएकी छिन् । माइतीघरमा परिवार ठुलो ,आम्दानीको बाटो साँघुरो भएकाले पनि सानै उमेरदेखि कमलाले कामको खोजी गरिन् ।
विभिन्न व्यापारिक संस्थानमा उनले पाँच वर्ष जति मार्केटिङ म्यानेजरको रूपमा काम गरिन् । काम गर्दै जीवनमा अध्ययनलाई अघि बढाइन् । आफ्नै पौरखमा हुर्किन् । दुःख के हो, सङ्घर्ष के हो, पीडा के हो ? समाज के हो भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ । हजार हन्डर खाएर पनि कमलाले आफ्नो जीवनलाई सुनजस्तै खारेकी छिन् ।
कमलालाई घर परिवारबाट पनि सक्दो सहयोग मिलेकै कारण पढाइ र व्यवसाय सञ्चालनमा सहजता मिलेको छ । बुटवलमा रहेको श्रीनगर फोटो स्टुडियोमा उनले नियमित दुई जना र मौसमी सहयोगी कामदारका रूपमा पाँच जनालाईसम्म रोजगार दिन्छिन् ।
बिहे, भोज र पूजाआजा खिच्नका लागि मौसमी सहयोगी कामदार खोज्ने गर्छिन् । व्यवसायमा उनको प्रत्यक्ष निगरानी र संलग्नता रहेकै कारण सफलता उन्मुख छ ।
स्टुडियोबाट आएको आम्दानीले घर भाडा, कर्मचारी तलब, छोराछोरीको पढाई, खानपिन, औषधोपचार गरेकी छिन् । व्यवसायले उनलाई आर्थिक लाभ दिएको छ । वकालतले उनलाई प्रतिष्ठा थपेको छ ।
भविष्यमा आफ्नो स्टुडियोमार्फत धेरैलाई फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम र रोजगारी दिने उनको योजना छ । सफल र अब्बल व्यवसायी बन्ने उनको सपना छ । समन्वय, सहकार्यमा क्षमता वान कमला, निडर र प्रतिभाशाली छिन् ।
तार्किक क्षमताले धेरैलाई प्रभाव पार्ने गर्छिन् । कमलाले आफ्नो शैक्षिक तथा व्यावसायिक अहमतालाई दबाउने गर्छिन् । आपूmलाई अब्बल बनाउने अभियानमा सधैँ सक्रिय छिन् ।
समयको गतिसँगै आफ्नो व्यवसायलाई परिमार्जन र आफूलाई प्रविधिमैत्री बनाउँदै लगेकी छिन् कमलाले । कमलाको हिम्मत, आँट र साहसको जति तारिफ गरे पनि कमै हुने गर्छ ।