© 2026
बुटवल । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले विकास–समृद्धिलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही–२ का उम्मेदवारसमेत रहेका पौडेलले मतदातालाई पत्रबाट सम्बोधन गर्दै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिबद्धता जनाएका हुन् । निर्वाचन क्षेत्रका मतदातालाई उनले आफ्नो तर्फबाट लिखित पत्र नै दिएर प्रचार अभियान थालेको एमाले नेता युवराज घिमिरेले जानकारी दिए ।
घरदैलो अभियानकै क्रममा मतदाताको नाम लेखेर पौडेलले लिखित अपिलमार्फत विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेर पारदर्शिता देखाउन खोजेको उनले बताए । निर्वाचन परिचालन कमिटीले यसको समन्वय गरेर सम्बन्धित व्यक्तिको नामै लेखेर पुराउने अभियान थालेको घिमिरेले जानकारी दिए ।
पत्रमा पौडेलले आसन्न चुनावलाई संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन् । विगतमा मतदाताबाट प्राप्त विश्वासका आधारमा आफू निर्वाचित भई अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच पनि स्थायित्व कायम राख्ने प्रयास गरेको उनले दाबी गरेका छन् ।
विशेष गरी भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र जोगाउने कार्यमा आफ्नो भूमिका रहेको उनले स्मरण गरेका छन् ।
रूपन्देहीलाई केवल भौगोलिक क्षेत्र नभई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको पत्रमा उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक कोरिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थललगायत आयोजना क्षेत्रको पहिचान बनेको उनको भनाइ छ ।
त्यस्तै, लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, प्रादेशिक अस्पताल, कृषि थोक बजार, सिद्धार्थ राजमार्ग स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, पुल तथा करिडोर निर्माणजस्ता आयोजनाले समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्याएको उनले उल्लेख गरेका छन् ।
उनले अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रमा उनले सुरु भइसकेका तर अपूरा रहेका आयोजना छिटो सम्पन्न गर्ने, नयाँ योजनाको थालनी गर्ने, औद्योगिक विकास विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।