© 2026
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला चुनाबी भेटघाटका लागि भन्दै लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश पुगेका छन्।
सोमबार रुपन्देहीमा रहेका लामिछाने मंगलबार नवलपरासी पश्चिममा थिए। उनी बुधबार पोखरा पुगेका छन्।
सोमबारदेखि जहाँ जहाँ उनी पुगेका छन्, उनको मूल उदेश्य चुनाबी कार्यक्रम भन्दा पनि अदालतको तारेख लिने हो। त्यही मेसोमा उनले चुनाबी भेटघाट गरिरहेका छन्।
सोमबार रुपन्देही जिल्ला अदालत भैरहवामा आएका उनी बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी आरोपको मुद्दामा तारेख भर्न उपस्थित भएका थिए। यही क्रममा उनले लुम्बिनीका रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा चुनाबी भेटघाट गरे।
जिल्ला अदालत कास्कीमा तारेखमा उपस्थित हुन पोखरा पुगेका लामिछानेले त्यहाँ समेत चुनावी अभियानलाई निरन्तरता दिएका छन्। बिहीबार लामिछानेले लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाको विषयमा जिल्ला अदालत, कास्कीमा उपस्थित हुने भएका छन्।
रास्वपाका अनुसार आज लामिछानेले कास्कीको तालचोक, हेम्जा र चिप्लेढुंगामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम गरेका छन्।