© 2026
बुटवल, १७ माघ ।
रुपन्देही क्षेत्र नम्बर १ विगतमा दुर्योधन सिंह थारुले ह्याट्रिक गरेको र पछिल्लो समय छविलाल विश्वकर्मा दोहोरिएको क्षेत्र हो ।
यी दुई जना बाहेक यो क्षेत्रबाट अब्दुल रज्जाक र घनश्याम यादव एक–एक पटक सङ्घीय संसद्मा जाने अवसर पाएका छन् । वि.सं २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना र बहुदलीय व्यवस्था आएपछि २०४८ सालमा आम निर्वाचन भयो ।
रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका दुर्योधनसिंह थारु र नेकपा एमालेबाट भीमनारायण थारु उम्मेदवार थिए । यी दुई दलबिच मुख्य प्रतिस्पर्धा थियो । त्यस बेला क्षेत्र नम्बर १ को चुनाव पाण्डव र कौरवको लडाइँ हो भनेर पनि चर्चा गरिन्थ्यो ।
पाण्डवका भीमले कौरवका दुर्योधनलाई जितिहाल्छ भनेर एमालेका कार्यकर्तामाझ ठट्टा हुन्थ्यो । तर, २०४८ को चुनावमा काँग्रेसका दुर्योधन ५२५ मतान्तरले विजयी भए । २०५१ सालमा मध्यावधि चुनाव भयो । घनश्याम भुसाल दुर्योधनको प्रतिस्पर्धी बनेर आए । अनेरास्वियुको विद्यार्थी राजनीतिबाट उदाएका भुसाल त्यस बेला एमाले रुपन्देही जिल्ला कमिटीका सचिव थिए ।
विद्यार्थी राजनीतिबाट आएका प्रखर वक्ता घनश्यामको तुलनामा दुर्योधनको भाषण कला कमजोर थियो । प्रखर वक्ता घनश्यामको अगाडि यो पटक दुर्योधनलाई गाह्रो छ भन्ने चर्चा हुन्थ्यो । तर दोस्रो पटकको चुनाव पनि दुर्योधनले बाजी मारे । उनले घनश्यामलाई करिब १५ सय मतान्तरले पराजित गरे ।
२०५६ सालको चुनावमा काँग्रेसका दुर्योधनसँग एमालेका घनश्याम यादव मैदानमा उत्रिए । दुर्योधनले तेस्रो पटक जितेर ह्याट्रिक गरे । घनश्याम यादवलाई साढे ४ हजार मतान्तरले हराए । २०६४ सालको संविधान सभाको चुनावमा दुर्योधन उम्मेदवार बनेनन् ।
काङ्ग्रेसबाट तत्कालीन जिल्ला सभापति अब्दुल रज्जाकले टिकट पाए । एमालेबाट छविलाल विश्वकर्मा मैदानमा थिए । २०५६ सालमा एमालेबाट चुनाव लडेका घनश्याम यादव २०६४ सालको संविधान सभाको चुनावमा नेकपा माओवादीबाट मैदानमा आए । माओवादीको लहर भएको त्यो समयमा यादवले नै चुनाव जिते ।
२०७० सालको अर्को संविधान सभाको चुनावमा नेपाली काँग्रेसका अब्दुल रज्जाक र एमालेका छविलाल विश्वकर्माबिच कडा प्रतिस्पर्धा थियो । तर रज्जाकले अन्तिममा बाजी मारे । २०७४ सालको चुनावमा विश्वकर्माले नतिजा उल्ट्याउँदै रज्जाकलाई पराजित गरे ।
त्यस बेला एमाले र माओवादीको गठबन्धन थियो । विश्वकर्माले ३४ हजार ७५२ मत पाउँदा रज्जाकले २६ हजार ८८५ मत पाए । २०७९ को चुनावमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रमा काँग्रेस र माओवादी केन्द्र दुवैको चुनाव चिन्ह मतपत्रमा थिएन ।
काँग्रेस र माओवादीले स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थन गरेको थियो । उनले त्रिशूल चुनाव चिन्ह पाएका थिए । एमालेबाट छविलाल विश्वकर्मा नै उम्मेदवार थिए । विश्वकर्मा २४ हजार ८८२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३१८ मत ल्याए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबाट यसअघि सांसद भएकाहरू दोहोरिने सम्भावना कम छ । विगतमा यो क्षेत्रबाट ३ पटक विजयी भई काङ्ग्रेसबाट ह्याट्रिक गरेका दुर्योधनसिंह चौधरी २०६४ पछि चुनाव लडेनन् ।
केही वर्ष अघि नै उनको निधन भइसकेको छ । काङ्ग्रेसबाट एक पटक विजयी भएका अब्दुल रज्जाक प्रदेश सांसद भएकाले यो पटक प्रतिनिधि सभाको उम्मेदवार भएनन् । पछिल्लो समय दुई पटक सांसद भएका एमालेका छविलाल विश्वकर्मा यो पटक चुनाव लडेनन् ।
पुराना सांसद मध्ये अहिले २०६४ सालमा चुनाव जितेका घनश्याम यादव मात्र यो चुनावी मैदानमा छन् । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका यादवले जितेमा मात्र रुपन्देही–१ मा पुराना सांसद दोहोरिने छन् ।
तर गत चुनावको समानुपातिक मत र नेकपाको सङ्गठनलाई आधार मान्ने हो भने यादवको सम्भावना कमजोर देखिन्छ । त्यस बेला माओवादी केन्द्रले समानुपातिकतर्फ ३ हजार ७३ मत प्राप्त गरेको थियो । एकीकृत समाजवादीको ८०३ मत मात्र आएको थियो । यादव बाहेकका अरू उम्मेदवारले जितेको खण्डमा रुपन्देही–१ ले यो पटक प्रतिनिधि सभाको लागि नयाँ सांसद पाउने छ ।
उहिलेको समानुपातिकको मतलाई आधार मान्ने हो भने रुपन्देही क्षेत्र नम्बर १ मा यस पटक नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबिच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । २०७९ को चुनावमा काँग्रेसले समानुपातिकतर्फ १९ हजार १२५ मत पाएको थियो ।
दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ८०० मत ल्याएको थियो । १५ हजार ७२४ मत ल्याएको एमाले तेस्रो स्थानमा थियो । ११ हजार २४३ मत सहित चौथो भएको राप्रपालाई पनि प्रतिस्पर्धी मानिएको छ ।
मुख्य प्रतिस्पर्धी भनिएका यी चार वटै दलबाट जो निर्वाचित भए पनि प्रतिनिधि सभामा पुग्ने नयाँ अनुहार हुने छन् । नेपाली काङ्ग्रेसबाट हिराबहादुर खत्री उम्मेदवार बनेका छन् । उनी २०७४ को चुनावमा देवदह नगरपालिकाका मेयर थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल लम्साल उम्मेदवारकै रूपमा नयाँ हुन् । नेकपा एमालेबाट उम्मेदवार बनेका दधिराम न्यौपानेलाई प्रदेश सांसदको अनुभव भए पनि प्रतिनिधि सभामा पुग्न पाएका छैनन् । राप्रपाका प्रज्ज्वल बोहोरा पूर्व सांसद दीपक बोहोराका छोरा हुन् । उनी पनि पहिलो पटक संसदीय प्रतिस्पर्धामा छन् ।
देवदह आदर्श क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारी नयाँ उम्मेदवारहरूबिचको प्रतिस्पर्धाले रुपन्देही–१ को चुनाव रोचक बनेको बताए । ‘यहाँ नयाँ भनिएका दलहरूप्रतिको मतदाताको आशा पनि देखिएको छ । साथै पुराना भनिएका दलहरूको चहलपहल पनि उस्तै छ ।
सबैजसो दलका उम्मेदवार पनि नयाँ अनुहारका छन्’–उनले भने–‘मतदाताहरूको विचार अझै सङ्लिसकेको छैन । त्यसैले नतिजा कस्तो आउँछ भनेर अहिले अनुमान गर्न गाह्रो छ ।’ रुपन्देही–१ को दक्षिण भेगमा पनि चुनावी चर्चा दिन प्रतिदिन बढ्दै गएको छ ।
रोहिणी गाउँपालिका धकधईमा रहेको रामनरेश माविका प्रधानाध्यापक अब्दुल हलिम खाँले चुनावी गतिविधिहरू बढिरहेको बताए ।
‘यहाँ युवाहरू नयाँ दल र नयाँ उम्मेदवारको चर्चा गरिरहन्छन् ।
पार्टीप्रति प्रतिबद्ध र पाका पुस्ताहरू पुराना पार्टीको पक्षमा छन्’–उनले भने–‘यहाँका मतदाताले रोजगारी होस्, विदेश जानु नपरोस्, कृषि तर्फ मल, बिउको अभाव नहोस् भन्ने चाहेका छन् ।’
रुपन्देही क्षेत्र नम्बर १ मा यस पटक ३१ जना चुनावी मैदानमा छन् । जसमा २० जना दलगत र १० जना स्वतन्त्र उम्मेदवार हुन् ।