© 2026
लोकतान्त्रिक पद्धतिमा आवधिक र नियमित निर्वाचन अनिवार्य हुन्छ ।
यद्यपि यो निर्वाचन आवधिक भन्दा पनि विशेष परिस्थितिमा दुई वर्ष अगाडी हुँदै छ । जनताको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक अधिकार भनेको नै मतदान हो । अर्थात् आफ्नो प्रतिनिधि आफैले छान्ने व्यवस्था हो ।
त्यस्तै राज्यबाट प्रदत्त अधिकार स्थानीय निकायबाटै प्राप्त गर्नु जनताको नैसर्गिक अधिकार हो । राजनीतिक रूपमा जनतालाई सबल बनाउन, विकासका लक्ष्य हासिल गर्न र सुशासनको अवस्था सुदृढ गर्न स्थानीय राज्य संरचना सबल र सशक्त हुनुपर्छ ।
अबको ३८ दिनपछि फागुन २१ गते आम निर्वाचन हुँदै छ । निर्वाचनमार्फत जनताले मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न पाउने भएका छन् । नेपाली जनतामा एक प्रकारको उत्साह छ । यो उत्साहलाई घोषित चुनावले सम्बोधनसमेत गर्न सक्ने हैसियत राखेको छ ।
त्यसैले परिवर्तनप्रति सकारात्मक जनता चुनावप्रति पनि सकारात्मक छन् । लोकतन्त्रको अलङ्कार भनेकै भयरहित र निष्पक्ष चुनाव हो । चुनावले धेरै समस्यालाई सम्बोधन गर्छ । पार्टीहरूको लोकप्रियताको अग्निपरीक्षा गर्ने माध्यम भनकै चुनाव मात्र हो ।
चाहे त्यो स्थानीय निकायको होस्, चाहे प्रदेश वा सङ्घकै किन नहोस् । निश्चित रूपमा चुनावविना चलेको जस्तोसुकै शासन व्यवस्था पनि लोकतान्त्रिक शासन व्यवस्था हुनै सक्दैन । गफमा लोकतन्त्र भएर मात्र हुन्न, व्यवहारमा लोकतन्त्र स्थापित हुनुपर्छ ।
गरी खाने आमजनताले खोजेको मूल चुरो भनेको व्यावहारिक लोकतन्त्र नै हो । अब नेपालमा नयाँ पुनर्जागरण आएको छ । सबै तह र तप्काका जनता जुर्मुराएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको छ ।
अव देश बनाउन सबैभन्दा पहिले राजनीति ठीक बाटोमा आउनुपर्छ । जेनजीको माग पनि त्यही हो । अहिले हिमाल, पहाड र तराईमा चुनावको रौनक छ । तसर्थ अहिले नेपालको अवस्था समस्या सिर्जना गर्ने तहको होइन, समाधान गर्ने समय आएको छ ।
चुनावलाई के र कसोगरी व्यवस्थित गर्न सकिन्छ । चुनावलाई सफल बनाउनु सवैको दायित्व हो । त्यसमा सबैका साझा मिलनविन्दु के हुन सक्छन् ? अहिले चुनाव भएन भने त्यो सर्दै र टर्दै जान सक्छ । तसर्थ ३८ दिनपछि हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ हामी सवैको ध्यान पुग्नु जरुरी छ । राजनैतिक वातावरण तयारीका लागि सवै दल सचेत र चनाखो बन्नुपर्ने उत्तिकै दायित्व छ ।
अहिले दलीय भावनाले भन्दा पनि निर्वाचनको महा अभियानलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वनाउनेतर्फ पहल हुनु जरुरी छ । आमनिर्वाचनले ढोका ढकढक्याइसकेको छ । यतिवेलासम्म पुराना एवं नयाँ पार्टीहरूले प्रचारप्रसारमा आफ्नो प्रायः सबै सामथ्र्य खन्याइसकेका छन । आफ्नो विजय सुनिश्चित गर्न यतिखेर उनीहरू अन्तिम कोसिसमा छन् । अब मतदाताको विवेकको परीक्षाको घडी आएको छ ।
कसलाई मतदान गर्ने भन्ने कुरा मतदाताको विवेकमा भर पर्ने भएपनि मुलुकलाई यहाँसम्म ल्याईपु¥याउन विगतमा गरिएको त्याग र बलिदान बिर्सन सकिदैन । २००७ सालको प्रजातन्त्रको कुरादेखि २०४६ साल हुँदै २०६२/ ०६३ को ऐतिहासिक जनआन्दोलन हुँदै गणतन्त्रसम्मको यात्रा त्यति सजिलै भएको होइन ।
तसर्थ विगतमा भएको बलिदान र संघर्षलाई पनि आँकलन गर्दै अहिलेको अवस्थालाई मूल्याँकन गर्नु जरुरी छ । सवै कुरा सार्वभौमसत्ता सम्पन्न मतदाताको विवेकको कुरा हो तर, मतदान गर्नुअघि धेरै कुरामा विचार पु¥याउनुपर्ने ऐतिहासिक जिम्मेवारी र दायित्वलाई नजरअन्दाज गरिनुहुँदैन ।
भिन्न परिस्थितिमा हुँदै गरेको यो निर्वाचनको आवश्यकता किन ? भोलीको मार्ग के हुने ? यी सवै बिषयमा पनि मतदाताको ध्यान जानु अपरिहार्य छ । जेहोस निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंकाबीच निर्वाचनको वातावरण तयार भैसकेकोले अव सवै निर्वाचनमा होमिनुपर्दछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनेतर्फ ध्यान जाओस् ।