Butwal Today

‘अब हाम्रो होइन, राम्रो प्रतिनिधि छानौँ’ 

१३ माघ २०८२, मंगलवार
अ+
अ-

फागुन २१ गते आम निर्वाचनको प्रयोजनका लागि अहिले मुलुक निर्वाचनमय बनेको छ ।

विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जनताको घरदैलोमा व्यस्त छन् । राजनैतिक दलका घोषणापत्र अव सार्वजनिक हुने क्रममा छन् । सरकार समेत सङ्घीय निर्वाचनको वातावरण सिर्जना गर्न तातिएको छ ।

ठिक यही बेला आम मतदाताको सामु एउटा प्रश्न खडा भएको छ– कस्ता उम्मेदवारलाई भोट दिने ? मतदाताले सही र योग्य उम्मेदवार छनोट गर्ने बेला यही हो । नेपाली जनता अहिले सचेत भैसकेका छन् । तसर्थ मतदाताले यो निर्वाचनमा हाम्रा भन्दा पनि राम्रा उम्मेदवार छान्नेतर्फ विवेक प्रयोग गर्ने विश्वास गर्न सकिन्छ । मुलुकमा अहिले पनि सामाजिक न्याय छैन । विभेदको समूल अन्त्य भएको छैन ।

अन्याय र अत्याचार नियन्त्रण गर्दै जनताको घरदैलोमा सुशासन पु¥याउनु सरकारको प्रमुख दायित्व हो । त्यही सरकार छान्ने बेला अहिले आएको छ । विकेन्द्रित अधिकारको अभ्यास र प्रभावकारी शासन व्यवस्था कार्यान्वयनका लागि सक्षम र भविष्य दर्शी प्रतिनिधि अपरिहार्य हुन्छ ।

जनताको काम छिटोछरितो तरिकाबाट सम्पन्न गर्न, विकास निर्माणका योजना छनोट र कार्यान्वयनमा जनसहभागितालाई उच्च प्राथमिकता दिनु, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउनु सुशासनका आधारभूत सर्त हुन ।

ती उम्मेदवारका पनि सर्त हुन सक्छन् । अहिले नेपालमा भ्रष्टाचार मौलाउँदो अवस्थामा रहेको महालेखापरीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ । उम्मेदवारका झुटा र फोस्रा आश्वासन तथा क्षणिक लोभ र लाभका भरमा मत दिँदा आगामी पाँच वर्ष पछुताउनुपर्ने अवस्था आउने हुनाले मतदाताले त्यस्तो गल्ती कहिल्यै गर्नुहुन्न । अतः मतदाताका लागि अहिलेको समय अवसर र चुनौती दुवै छ ।

मुलुकमा सुशासन कायम हुन नसके जनताले दुःख पाउने कुरा अहिलेसम्मको नेपालको उदाहरण काफी छ । त्यसैले सदाचारी र जबाफदेही प्रतिनिधि छान्न मतदाताले विवेक पु¥याउने वेला आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार नेपालको अवस्था सन्तोषजनक पाइँदैन । विगत ६ बर्षको अवधीमै नेपालको सार्वजनिक ऋण दोब्बर भएको छ । हरेक नेपालीको टाउकोमा एकलाख बैदेशिक ऋण पुगेको छ ।

अर्को चुनौती र चिन्ताको कुरा के छ भने भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय पहरेदार संस्था ट्रान्सपेरेन्सी इन्टरनेसनलको सूचकांकले नेपाललाई भ्रष्टाचार बढी हुने देशका रूपमा सूचीकृत गर्दै आएको छ । देश बेरुजुको दलदलमा फस्दै गएको देखिन्छ ।

जनप्रतिनिधि नै सवैभन्दा भ्रष्टाचारमा डुबेका छन् । जनताको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ, रोजगारी सिर्जनाको नीति र रणनीति कति व्यावहारिक छन् तथा राज्यबाट प्रदान गरिने सेवा सुविधाको पहुँचमा सबै जनतालाई समेट्ने कस्ता योजना छन् आदि विषयलाई मतदाताले केन्द्रमा राख्नु जरुरी छ । उम्मेदवारको विगतको पृष्ठभूमि, बर्तमान अवस्था र विकासप्रतिको लगाव अनि जनताको सुख दुःखमा प्रत्यक्ष सहभागिताको विषय पनि मतदाताका लागि चासोको विषय हुनुपर्दछ ।

अवको दिनमा जुन दल र उमेदवारले भ्रष्टाचार अन्त्य गर्ने प्रतिवद्धता गर्छ उसलाई मात्रै भोट दिनुपर्दछ । अहिले शहर बजार गाउँ घर सवैतिर चुनावको चर्चा र चटारो चुलिँदो छ । उम्मेदवारहरूले भोट बटुल्न अनेक आश्वासन दिँदै हिँड्नु अनौठो होइन ।

जनताले कुन सरकारको पालमा सुशासन स्थापित भयो अनि कसको पालामा विसंगति बढ्यो भन्ने मूल्याँकन र अध्ययन गर्ने समय आएको छ । विगतमा उनीहरूले जनतासामु गरेका बाचा कति पूरा गरे, लेखाजोखा गरेर मात्रै मतदाताले आफ्नो अमूल्य मत कसलाई दिने, निर्णय गर्नुपर्छ ।

उम्मेदवारका झुटा र फोस्रा आश्वासन तथा क्षणिक लोभ र लाभका भरमा भोट दिँदा आगामी पाँच वर्ष पछुताउने गल्ती मतदाताले अव कहिल्यै गर्नुहुन्न । केही दिनभित्रै सवै दलको घोषणापत्र सार्वजनिक हुनेछ ।

ती घोषणापत्र केवल देखाउने घोषणापत्र मात्रै नबनून । अव मतदाता पनि सचेत बन्नुपर्ने समय आईसकेको छ ।