© २०२३
आदरणीय विष्णु कमरेड,
अहिले तपाईंको राजनीतिक चर्चा र आलोचनाको बजार निकै तातिएको छ। कोही यसलाई राजधानी सरेको प्रभाव भन्छन्, त कोही अन्य राजनीतिक समीकरण। तर वास्तविकताको धरातलमा उभिएर हेर्दा, यो परिस्थिति कुनै बाह्य कारणले नभई तपाईं स्वयंको कार्यशैली र छनोटका कारण सिर्जना भएको देखिन्छ।
१. अवसरवादीको घेराबन्दी र निष्ठावानको उपेक्षा
तपाईंको मुख्य कमजोरी नै आफ्ना असल कार्यकर्ता र सल्लाहकार चिन्न नसक्नु रह्यो। अवसर, नियुक्ति र लाभका पदहरूमा सधैँ उही सीमित ‘हातचाटुवा’ र ‘ढोगी’ व्यक्तिहरूलाई बारम्बार बोक्नुभयो। एउटै व्यक्तिलाई पटक-पटक अवसर दिने र एकाघरका बहुसंख्यकलाई काखी च्याप्ने प्रवृत्तिले तपाईंलाई आम जनता र पुराना शुभचिन्तकबाट टाढा धकेलिदियो। विमानस्थलमा खादा र माला लिएर स्वागत गर्न आउने भीडलाई नै असल कार्यकर्ता ठान्नु तपाईंको सबैभन्दा ठूलो भ्रम सावित भयो।
२. इतिहास बिर्सिँदाको परिणाम
२०५१ सालदेखि तपाईंलाई घेराबन्दीमा राख्ने ती अवसरवादीले तपाईंको विगतका संघर्ष बिर्साए। कमरेड, हिजो जेलब्रेक गरेर जाँदा आफ्नो ज्यान दाउमा राखेर तपाईंलाई आश्रय दिने ती ‘सेल्टरदाता’ हरूलाई आज कुन अवस्थामा छोड्नुभयो? भूमिगत कालमा भैरहवादेखि पाल्पाका गाउँबस्तीमा तपाईंलाई जोगाउने ती अन्नदाता र आवासदाताको घरमा मन्त्री वा सांसद हुँदा कति पटक पुग्नुभयो? हिजोका अभिभावकहरूले जुन जालो तोड्न सकेनन्, आज उनीहरूका सन्तानले त्यो जालो स्पष्ट देखिरहेका छन्। उनीहरू भन्दैछन्। “हामीलाई पौडेल चाहिएन, पौडेललाई त अवसरवादीको झुण्ड भए पुग्छ।”
३. राजधानीको मुद्दा र आम नागरिकको बुझाइ
राजधानी बुटवलबाट सर्दा व्यापारिक वर्गमा केही असन्तुष्टि होला, तर गाउँबस्तीका साधारण नागरिकलाई यसले खासै फरक पारेको छैन। उनीहरूका लागि राजधानी जहाँ भए पनि सेवा र सुविधा उस्तै हो। तर, उनीहरूको चित्त दुखाइ यो छ कि तपाईंले हिजोका दुःखका सारथीहरूलाई बिर्सनुभयो। तपाईंले संघर्ष धेरै गर्नुभयो, त्यसको लाभ पनि लिनुभयो, तर असली मित्र र शुभचिन्तकलाई आफ्नो यात्रामा समेट्न सक्नुभएन।
४. निर्वाचन क्षेत्र पलायन: समाधान कि समस्या?
रुपन्देही-२ छोडेर पाल्पा-२ रोज्नु तपाईंको राजनीतिक जीवनको अर्को जोखिमपूर्ण कदम हुन सक्छ। हिजो मेरो जन्म हुँदा मेरै घरको तेस्रो तलामा लुकेर बस्नुभएका तपाईं, आज मेरै पुस्ताको ‘मत’ बदर हुने डरले भाग्दै हुनुहुन्छ। कमरेड, कतिन्जेल भाग्नुहुन्छ? ३० वर्षपछि पाल्पा फर्किँदा त्यहाँका जनताले पनि “हिजो कहाँ हुनुहुन्थ्यो?” भन्ने प्रश्न पक्कै सोध्नेछन्। क्षेत्र बदलेर मात्र समस्या समाधान हुँदैन, प्रवृत्ति नबदलेसम्म राजनीति सहज हुँदैन।
अबको बाटो: आत्मसमीक्षा र साहस
अझै पनि समय छ, आफ्नो छातीमा हात राखेर आत्मसमीक्षा गर्नुस्। अवसरवादीको घेरा तोडेर बाहिर निस्कनुस्। डटेर आफ्नै क्षेत्रमा लड्नुस् र जनताको माझमा पुग्नुस्। हिजोका अन्नदाता र जीवनदाताको सामीप्यता खोज्नुस्। तपाईंको यो दुर्दशा राजधानी सरेर भएको होइन, बरु असल पहरेदार चिन्न नसकेर भएको हो।
बेलैमा होस पुर्याउनुस् कमरेड, इतिहासले अवसर त दिन्छ, तर गल्ती गर्नेलाई माफी भने दिँदैन।