© २०२३
रुपन्देहीका विभिन्न स्थानमा फेला परेका ऐतिहासिक बस्तु संरक्षणमा बेवास्ता गरिँदै आएको छ ।
पालिका, प्रदेश र सङ्घीय गरि मुलुकमा तीन तहका सरकार छन् तर कुनै पनि सरकारको ध्यान त्यसतर्फ पुगेको छैन । रुपन्देहीकै सैन मैनामा वर्षौँदेखि फेला परेका बुद्धकालीन ऐतिहासिक बस्तुहरू संरक्षणमा बेवास्ता गरिएको छ । रानीबगिया बनकट्टा क्षेत्र बुद्धको जीवनसंग जोडिएका ऐतिहासिक स्थल हुन ।
त्यहाँ बुद्धकालीन भग्नावशेष प्राप्त भएका छन् । ती भग्नावशेष संरक्षणमा भने राज्यका कुनै पनि निकायले ध्यान दिएको छैन । त्यसैगरि बुटवलको राजापुर क्षेत्रमा समेत त्यस्तै ऐतिहासिक सम्पदा फेला परेको छ । त्यो सम्पदा जोगाउन स्थानीय सामुदायिक वनले प्रयास गरेको छ ।
बुटवलकै फूलबारीमा रहेको ऐतिहासिक मणिमुकुन्द सेनको दरबार सयौं बर्षदेखि खुला आकासमुनी छ । कम्तिमा त्यसलाई घामपानीबाट बचाउन सेड बनाएर राख्न सकियो भने मात्रैपनि हामी पछिको हजारौं बर्ष पछिको पुस्ताले यो क्षेत्रको इतिहास बुझ्न सम्झिन पाउने थियो ।
तर, यी ऐतिहासिक सम्पदा संरक्षणमा कसैको ध्यान पुगेको देखिदैन । अर्कोतर्फ जीर्ण संरचना संरक्षणमा राज्यको ढिलासुस्ती र लापरवाही बढ्दै गएको छ । बिदेशीले बनाईदिएका संरचनाको पनि सही सदुपयोग हुन सकेको छैन । बुटवलको बुटवल धागो कारखाना, पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाभित्र चीन सरकारले बनाईदिएका करोडौं मूल्यका भवन अहिले जीर्ण बनेका छन् । नीजिकरणको नाममा विदेशीले विनाईदिएका उद्योग कारखाना सबै ध्वस्त भैसकेका छन् ।
बचेका बर्षौ पुराना जीर्ण भवन र तिनका संरचना पनि उचित संरक्षणको अभावमा ढल्ने अवस्थामा पुगेका छन् । रूपन्देहीको देवदह, पश्चिम नवलपरासीकै पण्डितपुर, केरवानी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका अधिकांश स्थानमा फेला परेका ऐतिहासिक महत्वका बस्तुहरू संरक्षणको अभावमा त्यत्तिकै अलपत्र छन् । ती महत्वपूर्ण स्थान गाई भैसी चराउने झाडीमा परिणत भैसकेका छन् । पुराना संरचनाको संरक्षणमा कसैको ध्यान नै गएको छैन ।
२०६२ सालमा तत्कालिन शाही सरकारले लुम्विनी चिनी कारखाना नीजिकरण गरेको थियो । त्यसयता ती भवन अलपत्र अवस्थामा छन् । सुनवल नगरपालिकाले अरू नयाँ स्थानमा भवन बनाउनुभन्दा ती पुराना भवनलाई मर्मत सम्भार गरी प्रयोगमा ल्याउन सक्छ, जसबाट राज्यको करोडौं रूपैयाँ बचत हुन्छ ।
कारखाना नीजिकरण भएपछि त्यहाँ रहेका भवनहरूको समेत नियन्त्रण, सञ्चालन र ब्यवस्थापनको जिम्मेवारी निजी कम्पनीको जिम्मा गएको थियो । भवनको जिम्मेवारी निजी कम्पनीको जिम्मामा गएपनि ति भवन र जग्गा भने विक्री भई पूर्ण स्वामित्वमा नगएको हुँदा ती भवनको उचित प्रयोगका लागि सुनवल नगरपालिकाले योजना बनाई सरकारसँग पहल गरेमा अहिले सदुपयोगमा ल्याउन सकिन्छ तर त्यति गर्ने सोँच न त सरकारले राख्यो न त स्थानीय पालिकाले नै राखेको छ ।
बुटवल धागो कारखानाको अवस्था पनि त्यही छ । एकातिर करोडौं लगानीका उद्योग भौतिक पूर्वाधार विहीन भई बन्द भएर जीर्ण हुँदै जानु र अर्कोतिर नेपाली युवा जतिलाई विदेश जान बाध्य बनाउने हाम्रो शासन व्यवस्था गलत छ । अतः अव सुधारको आवश्यकता छ । निश्चितरूपमा देशमा धेरैथरी समस्या छन् ।
पालिकाहरूमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूसंग पनि काम गर्ने हो भने अथाह साधन श्रोत छ तर ती साधन श्रोतको सदुपयोगमा ध्यान दिनु जरुरी छ । नयाँ भौतिक संरचना निर्माणमा मात्र होइन पुराना ऐतिहासिक बस्तुको संरक्षण गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
रूपन्देही र पश्चिम नवलपरासीमा रहेका ऐतिहासिक सम्पदा, पुराना भौतिक संरचना संरक्षणमा बेलैमा ध्यान जाओस् । बजेट अभावमा संरक्षण गर्न नसकिने अवस्था हो भने राज्यका तिनै तहको संयुक्त पहलमा धेरै काम गर्न सकिन्छ । यो बिषयमा सम्वन्धित पालिकाहरूको बढी ध्यान जाओस् ।