© 2026
नवलपरासी, ३० पुस ।
प्राचीन कोलिय गणराज्यको राजधानी मानिने नवलपरासीको पण्डितपुर (प्राचीन कोलनगर) मा भइरहेको दोस्रो चरणको उत्खननबाट स्क्वायर (वर्गाकार) दरबारको भग्नावशेष भेटिन थालेको छ ।
गत पुस १३ गतेदेखि पुरातत्त्व विभागको टोलीले सुरु गरेको उत्खननका क्रममा अहिलेसम्मकै ठुलो क्षेत्रफलमा फैलिएको दरबार संरचनाका अवशेष फेला परेका हुन् ।
दुई सातादेखि निरन्तर भइरहेको उत्खननमा उत्खनन स्थलको दक्षिण, पश्चिम र उत्तरतर्फ जमिनभित्र मोटा पर्खाल रहेको स्पष्ट सङ्केत देखिएको उत्खनन टोलीले जनाएको छ । करिब डेढ कट्ठा क्षेत्रफलमा गरिएको उत्खननबाट स्क्वायर भवनका संरचना देखिन थालेका छन् भने सम्पूर्ण दरबार क्षेत्र करिब पाँच कट्ठासम्म फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
उत्खनन टोली प्रमुख तथा पुरातत्त्वविद् भास्कर ज्ञवालीका अनुसार पण्डितपुरमा हालसम्म फेला परेको यो सबैभन्दा ठुलो भवन संरचनाको भग्नावशेष हो । “यस क्षेत्रको जग्गा व्यवस्थापन गर्न सकिएमा उत्खनन स्थललाई पर्यटक र बौद्ध तीर्थयात्रीका लागि अवलोकनयोग्य खुला सङ्ग्रहालयका रूपमा विकास गर्न सकिन्छ,” उनले बताए ।
रामग्राम नगरपालिकाले यस क्षेत्रलाई तत्कालका लागि भाडा वा अधिग्रहणमार्फत जग्गा व्यवस्थापन गर्ने तयारी गरिरहेको जानकारी पनि उनले दिए ।
पुरातत्त्व क्षेत्रका जानकार स्थानीय नारद यादवले उत्खननबाट भेटिएको दरबार संरचनालाई ठुलो उपलब्धि बताए । विगत तीन दशकदेखि यस क्षेत्रमा भू–भौतिक सर्वेक्षण र उत्खनन कार्य हुँदै आएको उल्लेख गर्दै उनले भने, “स्क्वायर दरबारको अवशेषले कोलिय गणराज्यको राजधानी यहीँ रहेको पुष्टि गर्न थप आधार दिएको छ ।”
उनका अनुसार यस क्षेत्रमा इनारसहितको कृषाणकालीन बस्ती, स्क्वायर दरबार तथा अन्य भवन संरचनाका भग्नावशेष फेला परेका छन्, जसले पर्यटक, बौद्ध तीर्थयात्री र अनुसन्धानकर्ताका लागि अध्ययनको महत्त्वपूर्ण आधार तयार गरेको छ ।
एक दशकअघि पुरातत्त्वविद् तारानन्द मिश्रले राजधानी क्षेत्रलाई अन्तः नगर र बाह्यनगर गरी दुई भागमा रहेको उल्लेख गरेका थिए । हाल फेला परेको स्क्वायर दरबार बाह्यनगर क्षेत्रमा पर्दछ, जहाँ कृषाणकालीन इँटा, भाँडाकुँडा तथा अन्य सामग्री भेटिनुले त्यहाँ सुरक्षा तथा नागरिक बस्ती रहेको सङ्केत गर्दछ ।
यस वर्षको पहिलो चरणको उत्खनन पनि भास्कर ज्ञवालीकै नेतृत्वमा कात्तिक २५ गतेदेखि सुरु भएको थियो । उत्खननमा भेटिएको प्राचीन इनार र त्यससँग जोडिएका संरचना पहिचान गर्न थप ट्रेन्च खनिएको थियो ।
मङ्सिर १ गतेदेखि त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्त्व अध्ययनरत ३५ जना विद्यार्थीले व्यवहारिक तालिमका रूपमा उत्खनन कार्यमा सहभागिता जनाएका थिए ।
एक महिना लामो उत्खननका क्रममा दरबार संरचनाका अवशेष निरन्तर भेटिँदै गएपछि त्यसैलाई निरन्तरता दिन दोस्रो चरणको उत्खनन सुरु गरिएको हो । “२१ दिनसम्मको यो उत्खननले पनि दरबारको सम्पूर्ण स्वरूप पत्ता लाग्ने अवस्था देखिँदैन,” यादवले भने, “तर यो क्षेत्र पूर्ण रूपमा उत्खनन गरी संरक्षणसहित खुला राख्न सकिएमा ऐतिहासिक महत्त्व झनै बढ्नेछ ।”
पुरातत्त्व विभाग र डरहम विश्वविद्यालयका प्राविधिक टोलीले यसअघि नै भू–भौतिक सर्वेक्षण गरी प्रतिवेदन बुझाइसकेका छन् । पुरातत्त्व टोलीका अनुसार पण्डितपुर कोलिय राजाहरूको राजधानी मात्र नभई बुद्धकी आमा महामायाको जन्मस्थलसमेत हो ।
बौद्ध इतिहासअनुसार महामाया, प्रजापति गौतमी र यशोधराको जन्म यही क्षेत्रमा भएको मानिन्छ । कार्बन डेटिङ परीक्षणले यहाँ भेटिएका सामग्री इसा पूर्व ६ सय वर्षभन्दा पुराना भएको देखाएको छ । राजधानी क्षेत्र अन्तः नगर र बाह्यनगर गरी करिब एक सय बिघा क्षेत्रफलमा फैलिएको अनुमान गरिएको छ ।
हाल सो क्षेत्रमा पर्ने जग्गा सार्वजनिक र निजी कति हो भन्ने यकिन गरी नेपाल सरकारसमक्ष अधिग्रहण प्रस्ताव पेस गर्ने तयारी भइरहेको पुरातत्त्वविद् ज्ञवालीले बताए ।
कोलिय गणराज्यको सीमा उत्तरमा चुरे पहाड, पूर्वमा अनोमा (हालको गण्डकी) नदी, पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीवनसम्म फैलिएको थियो ।
यस ऐतिहासिक पृष्ठभूमिसहित पण्डितपुरमा भेटिएका दरबारका भग्नावशेषले कोलिय सभ्यताको केन्द्र यहीँ रहेको तथ्यलाई थप मजबुत बनाएको छ ।