© २०२३
दाङ, १६ पुस ।
थारुहरुको महान पर्व माघीको पूर्वा सन्ध्यामा घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा यही पुस २२ र २३ गते जिल्ला समन्वय समिति घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र बनाएको हो । आर्थिक जागरण व, साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने नारा सहित हुन गइरहेको महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ ।
महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाहरुको भेलाले थारु कल्याणकारिणी सभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा १२१ सदस्यीय स्वंयसेवक परिचालन समिति गठन गरिएको हो । त्यस्तै स्वंयसेवक परिचालन समितिको सचिवालयमा लब्लिन क्यानभास, विरेन्द्र चौधरी, जंग चौधरी र कल्पना चौधरी रहेका छन् । यसैगरी ११ वटा स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले बताए ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको युवाहरुको भेलामा बोल्ने वक्ताहरुले गत वर्षको महोत्सव भन्दा पृथक र नयाँपन दिनुपर्ने बताएका थिए । त्यस्तै थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको सूनिश्चिताको लागि महोत्सव मार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति देखाउनु पर्ने बताएका थिए । यस्तै महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङगन सरसफाई गरेर स्टल राख्नका लागि तयारी गरिएको छ ।
दुइदिने महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्या लगायत चार दर्जन भन्दा बढी नाच प्रस्तुति हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी जानकारी दिए । त्यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रर्दशनीको लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ, माछा, गंगटा लागयत परिकारहरु समेत बिक्री वितरणको लागि राखिने छ ।