© 2026
बुटवल । सेतो गुराँस बालविकास सेवा रुपन्देहीको २७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ।
प्रारम्भिक बालविकाससँगै पोषण, स्वास्थ्य, शिक्षा, कृषि तथा सरसफाइ क्षेत्रमा क्रियाशील संस्थाले साधारणसभासँगै सामाजिक लेखा परीक्षण कार्यक्रम पनि आयोजना गरेको हो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले सरकारसँग सहकार्य गर्दै दिगो विकास लक्ष्य पूरा गर्न सेतो गुराँसले खेलेको भूमिकाको प्रशंसा गर्दै, सीमान्तकृत समुदाय लक्षित परियोजनालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।
कार्यक्रमका नेपाल सरकारकी सचिव निर्मला अधिकारी भट्टराईले जनसरोकारका विषयमा निरन्तर पैरवी गर्दै जीवनोपयोगी शिक्षा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। उनले २७ वर्षअघि महिला तथा बालबालिकाको उत्थानका लागि स्थापना भएको सेतो गुराँस आज सशक्त संस्थाको रूपमा स्थापित भएको उल्लेख गरिन्।
विद्युत् नियमन आयोगका सदस्य मधुसुधन अधिकारीले सेतो गुराँसका सामाजिक सशक्तिकरण कार्यक्रम अनुकरणीय रहेको बताउँदै संस्थागत दिगोपनामा ध्यान दिन आग्रह गरे।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सेतो गुराँसले सरकारी दायित्वअनुसार काम गरिरहेको उल्लेख गर्दै उपमहानगरपालिकाले सहकार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पोषणमार्फत जीवन रूपान्तरण तथा तरकारी मूल्य श्रृंखला विकास परियोजना उपलब्धिमूलक भएको बताउँदै यसको निरन्तरताका लागि पालिका प्रतिबद्ध रहेको जानकारी दिए।
कार्यक्रममा साझेदार संस्था किडाशाका एसोसिएट डाइरेक्टर कृपासुर निरौलाले सेतो गुराँससँगको सहकार्य प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि साझेदारी निरन्तर रहने उल्लेख गरे।
साधारणसभामा संस्थाकी अध्यक्ष ओमीकला गाहा पुनले बालविकास रणनीति निर्माणमा संस्थाको योगदानबारे जानकारी गराएकी थिइन्। कार्यकारी निर्देशक सुमित्रा शर्माले हाल विभिन्न साझेदार संस्थासँगको सहकार्यमा रुपन्देहीका १६ वटै पालिकामा ६ परियोजना सञ्चालन भइरहेको बताइन्।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। यसैबीच अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा उमा भण्डारी, उपाध्यक्षमा मञ्जु श्रेष्ठ, सचिवमा गोमती सुनार गहतराज र कोषाध्यक्षमा रमा थापा चयन भएका छन्। सदस्यहरूमा कमल न्यौपाने, मनिष पौडेल, कल्पना थापा मगर, ज्योती यादव र जै कुमारी थापा रहेका छन्।