© 2026
बुटवल। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ट्रफी टुर गर्यो। १२ जिल्लाका प्रमुख शहरहरु, मुख्य पर्यटकीय स्थलहरु र खेलप्रेमीहरुसँग लुम्बिनी लायन्सले जितको खुशी साट्यो।
जितको खुशी साट्न पुगेको लुम्बिनी लायन्सको टोलीलाई सबै जिल्लामा स्वागत र सम्मान गरिएको थियो भने नवलपरासी पुगेर लुम्बिनी लायन्सले टीमका कप्तान रोहित पौडेलका बाबुआमालाई सम्मान गर्दै खुशी साट्यो।
यो टुरका क्रममा आफुहरुले खेलप्रेमीसँग भावनात्मक सम्बन्ध बलियो बनाएको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए। उनले लुम्बिनी प्रदेश र लुम्बिनी लायन्सलाई एकअर्काका पर्याय बनाउनका लागि पनि यति लामो यात्रा गरिएको बताए। दोश्रो संस्करण जितेपछि आफुहरुले प्रदेशबासीबाट पाएको मायालाई अझ प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने उनले बताए। यो टुरलाई लुम्बिनी लायन्सले बुटवलमा समापन गर्दै छ। लुम्बिनी लायन्सले बुटवल मण्डपमा आज बुधबार च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्दैछ।
लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन आम खेलप्रेमी तथा संगितप्रेमीहरुबीच खुशी साट्न भव्य कन्सर्ट गर्ने जनाएको हो ।
कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्याण्ड, बद्रि पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल, तेरिया पुन मगरलगायतले आआफ्नो प्रस्तुति देखाउने कार्यक्रम संयोजक शित्तल शर्माले जानकारी दिए । क्रिकेटसँग जोडिएका खेलप्रेमीहरु तथा लायन्सका समर्थकहरूको सम्मान र खुशीयाली साट्नका लागि बुटवलका कार्यक्रम गर्न लागिएको शर्माले बताए ।
लुम्बिनी लायन्सका अध्यक्ष जिसीले च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला गरेको बताए । उनले त्यस क्रममा भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने प्रयास सफल भएको र सोही खुशीयालीमा कन्सर्टको आयोजना गरिएको अध्यक्ष जिसीले बताए । कन्सर्ट हेर्नका लागि प्रवेश शुल्क ५०० र १००० राखिएको बताउँदै टिकट खरिदकालागि इसेवा समेत प्रयोगमा रहेको बताए ।
कन्सर्ट हेर्ने दर्शक तथा खेलप्रेमीहरुका लागि बुटवलबाट सुनवल, भैरहवा र सालझण्डीबाट आउन र राती फर्किनका लागि निःशुल्क बसको ब्यवस्था समेत गरिएको आयोजकले बताएका छन् । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाईनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।
हेरौं लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पुगेको लुम्बिनी लायन्सको ट्रफी टुरका केही तस्वीरहरु । सबै तस्वीरहरु: लुम्बिनी लायन्स

































