Butwal Today

समानुपातिक उम्मेदवारमा बालेन पक्षको भागमा ४० जना

१३ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १३ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जनाको नाम पर्ने भएको छ । यो सहमति आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यक्रम रहेको छ । समानुपातिकतर्फ कुल ११० जनाको नाम बुझाउनुपर्ने हुन्छ ।

त्यसमा बालेन शाह पक्षका ४० जना र बाँकी ७० जना रास्वपाका उम्मेदवारको नामावली बुझाउने सहमति भएको स्रोतले जनाएको छ ।

यद्यपि, आइतबार बिहान रास्वपा र बालेनबीच भएको ७ बुँदे सम्झौतापत्रमा यो विषय उल्लेख गरिएको छैन । तर यसबारे मौखिक समझदारी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार, “समानुपातिकतर्फ बालेनजीलाई ४० जनाको नाम ल्याउन भनिएको छ । बाँकी ७० जना रास्वपाका हुन्छन् ।” बालेनको सूचीमा विभिन्न ‘जेन–जी’ समूहका अगुवा पनि समावेश हुने स्रोतले जनाएको छ ।

यसैबीच, रास्वपाले समानुपातिक सांसद उम्मेदवार छनोटका लागि आन्तरिक मतदान प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ । आन्तरिक भोटिङमार्फत लोकप्रिय मत प्राप्त गर्ने उम्मेदवारलाई प्राथमिकता दिइने रास्वपाको भनाइ छ ।