Butwal Today

नेप्से परिसूचक कारोबार घटेसँगै ओरालो

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, १५ मंसिर ।

सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंकले घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।

अघिल्लो दिन पनि नेप्से २६ अंकले घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा खुम्चिएको छ ।

कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०.७३, जीवन बीमा ०.५१, अन्य ०.१८ तथा व्यापार ०.१० प्रतिशतले घटेका छन् ।

माइक्रोफाइनान्स ०.६१, उत्पादन तथा प्रशोधन ०.३०, जलविद्युत् ०.२२, फाइनान्स ०.९१ तथा विकास बैंक ०.२६ प्रतिशतले बढेका छन् ।

चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।

त्यसैगरी, ग्रिन भेन्चर्सको ९.३१, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङको ५.४४ तथा युनाइटेड मोदी हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य बढेको छ ।

बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशतले घटेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको ३ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको २.२२ प्रतिशतले घटेको छ ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, बन्दीपुर केबुलकार, नेपाल पुनर्बीमा र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।