© २०२३
चन्द्रौटा, २९ कार्तिक ।
“श्रीमान् र श्रीमती काम एउटै गर्छन्, काम गर्ने समय पनि एउटै हुन्छ । तर, ज्याला फरक किन ?” – यो प्रश्न कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१० की कौसल्या रैदासको हो ।
बिहान सबेरै उठेर खेतबारी वा निर्माण स्थलमा पुग्ने उनी भन्छिन्: “दुवै जनाले एउटै काम गरे पनि श्रीमानलाई बढी तिर्छन्, मलाई कम । यो विभेद कहिलेसम्म ?”
श्रमिक महिलाहरूको यो पीडा केवल कौसल्याको होइन । यस्तै शिवराज नगरपालिका वडा नम्बर–११ की तुलसा नेपालीले पनि यस्तै अनुभव सुनाइन् । उनी भन्छिन्, “पहिले त हामी महिलालाई काममा लैजाँदा ज्याला कम दिँदै आउँथे । तर अहिले हामी सबै एकजुट भयौँ, आवाज उठायौँ ।
अब केही ठाउँमा समान पारिश्रमिक दिन थालेका छन्, तर अझै सबै ठाउँमा सुधार भएको छैन ।” उनका अनुसार दैनिक ज्यालादारीमा काम गर्दा अहिले ६ सयदेखि ७ सयसम्म पाउने गरेका छौँ । तर त्यो रकम पनि सधैँ उस्तै छैन, काम उपलब्धतामा निर्भर रहने गरेको छ ।
यस्तै शिवराज नगरपालिका वडा नम्बर–४ की शायरा खातुन पनि हरेक बिहान एक कम्पनीमा काम गर्न जान्छिन् । उनी भन्छिन्– “हामीले पनि काम गर्छौँ, पसिना बगाउँछौँ, तर दिनको ३ सय मात्रै पाउँछौँ ।”
सोही वडाकी सङ्गीता सुनार पनि खातुनकै जस्तो पीडाबाट गुज्रिएकी छन् । “काममा त फरक छैन, तर पारिश्रमिकमा सधैँ हामी पछाडि”– उनले भनिन् ।
शिवराज नगरपालिकाकी उप–प्रमुख शिवकुमारी थारुले गत साता नगर क्षेत्रका विभिन्न स्थानहरूमा अनुगमन गर्दै सरकारले तोकेको मापदण्डअनुसार गुणस्तरीय सेवा दिन सबै निकायले लागु गर्ने गरी प्रक्रिया अघि बढ्ने बताएकी छन् ।
अनुगमनका क्रममा उप–प्रमुख थारुले सेवाग्राहीले भोग्नुपरेका समस्या सुनेपछि तत्काल सुधारका उपायहरू अपनाउन सम्बन्धित प्रमुखहरूलाई निर्देशन दिँदै भनिन्, “सेवा प्रवाहमा अनावश्यक ढिलाइ, लापरबाही र मनपरीपन अब सह्य हुनेछैन ।
नागरिकले समयमै, सहज तरिकाले र पारदर्शी रूपमा सेवा पाउनुपर्छ ।” उनका अनुसार स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउन जनउत्तरदायित्व, सुशासन र पारदर्शिता अनिवार्य छ ।
जनतासँग गरेको वाचाबाट पछि नहट्ने बताउँदै अनुगमनलाई नियमित बनाउँदै कमजोरी देखिए कडाइका साथ कारबाहीसमेत गरिने उनले जिकिर गरिन् ।
नगरपालिका तथा अन्य संस्थाले हालै सेवा प्रवाहका प्रक्रियालाई सरल बनाउने, अभिलेख व्यवस्थापन सुदृढ गर्ने तथा सार्वजनिक सरोकारका विषयमा सतर्कता बढाउने अभियान चलाइरहेको जनाएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले शिवराज नगरपालिकाका ३ वटा वडामा कार्यक्रम सञ्चालन गर्दै आएको सहायक कार्यक्रम अधिकृत सञ्जीव गहतराजले बताए ।
केन्द्रले नियमित रूपमा सञ्चलन गरेको कार्यक्रममा स्थानीय उद्योग, कलकारखाना, ठेक्कापट्टा लगायत दैनिक मजदुरी गरी गुजारा चलाउनेलाई आयआर्जन तथा व्यापारमा लगानी गरी आम्दानीको स्रोत समेत खुलाएको उनले बताए ।
नागरिकहरूले आफ्नो हक अधिकारका निम्ति आवाजहरू उठाउँदै सामूहिक रूपमा आयआर्जनमा लाग्न समेत प्रेरणा मिलेको श्रमिक बताउँछन् ।
नेपालको संविधान र श्रम ऐनले ‘समान कामको लागि समान तलब’ को ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर छ । ग्रामीण क्षेत्रमा महिलाले अझै पनि समान श्रम गरेबापत कम पारिश्रमिक पाउँछन् ।
सामाजिक चेतनाको कमी, आर्थिक निर्भरता र मौनता नै यस असमानताको मुख्य कारण हुन् । धेरैजसो महिलाहरू आफ्नो अधिकारबारे जानकार छैनन् । जसले गर्दा उनीहरू अन्याय सहन बाध्य छन् ।
तुलसा, कौसल्या र उनी जस्ता दर्जनौँ महिलाहरू समूह लगायत संस्थामा ऐक्यबद्ध भई केही श्रमिक समूहले संयुक्त रूपमा आवाज उठाउन थालेका छन् ।
उनीहरू श्रमिक सङ्गठन र स्थानीय निकायसँग समन्वय गरेर समान पारिश्रमिकको माग गर्दै आएका छन् ।