© २०२३
दाङ, १४ कात्तिक ।
घोराही उपमहानगरपालिका –१२ डाँडागाँउका ४७ वर्षकी कमला चौधरीलाई आजभोलि धेरै गर्मी र धेरै जाडो लाग्ने गरेको छ ।
उनको पेसा भनेकै खेतीपाती हो । पहिले पहिले खेतीपाती गर्नलाई पानी प्रशस्त पर्थ्यो । पछिल्लो समय पानी पर्ने प्रणाली पनि परिवर्तन भएको जस्तो लागेको छ । पहिले पानी ठुलो जोडले जलमग्न हुने गरि पर्छ पहिले खडेरी भएर रोपेको बालीनाली पनि सुक्छ ।
३० वर्ष अगाडि खेतीपाती गर्दा प्रशस्त पानी हुन्थ्यो कुला,खोला, इनारमा पानी कहिले सुक्दैनथ्यो । गाउँघरमा प्रशस्त गाई बस्तु पाल्ने गरिन्थ्यो । आफ्नै घरमा २०वटा गाई बस्तु पालेको उनलाई ताजै छ । खेतबारीमा गोबर मल प्रयोग गरेर प्रशस्त उत्पादन हुन्थ्यो ।

अहिले रासायनिक मलको प्रयोग गर्नुपर्ने बाध्यता छ । गोठमा गाईबस्तु छैनन् । रोपेको बालीनालीमा रोग किरा लागेर खेतीपातीलाई धेरै असर परेको छ । पानीका मुहान सुकेर समस्या हुने गरेको उनको अनुभव छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरकी ४९ वर्षीया इन्द्राकुमारी चौधरीले जलवायु परिवर्तनका कारण बालीनालीमा रोग किराको प्रकोप बढेको बताइन् । उनले रैथाने बीउ मासिँदै गएको र उन्नत जातका बीउ प्रयोग गर्दा बढी रोग किरा लाग्ने गरेको अड्कल गरिन् ।
पहिलेको तुलनामा मानिसलाई रोग पनि बढी लाग्ने गरेको र त्यसमा पनि नसर्ने रोग धेरै लाग्ने अवस्था बढेको पाइएको बताइन् । प्लास्टिकको धुवाँले मानिस र पृथ्वीलाई धेरै असर गर्छ भन्ने कुरा थिएन । घरमा आगो सल्काउँदा सधैँ प्लास्टिकले सल्काउने गरेको उनले बताइन् ।
गाउँमा गठन भएको महिला समूहमा एउटा संस्थाले स्वच्छ सफा वातावरण सम्बन्धी दुई दिने तालिममा भाग लिँदा प्लास्टिक जलाउँदा हुने बेफाइदाको बारेमा थाहा पाएपछि प्लास्टिक जलाउन छोडेको र समूहमा अन्य पदाधिकारीलाई पनि सिकाउने गरेको उनले बताइन् ।
आफ्नै आनीबानी र अस्वस्थ जीवनशैलीले मानिस रोगी हुने अवस्था सिर्जना भएको भन्दै असल जीवनशैली र व्यवस्थित जीवनका लागि आफूबाट सुरुवात गर्ने र घर परिवार तथा समुदायलाई पनि सचेतना फैलाउने प्रतिबद्धता जनाइन् ।

घोराही उपमहानगरपालिका –६ का जुगमती चौधरी ६६ वर्षको भइन् । उनलाई पानी पर्ने प्रणालीमा परिवर्तन भएको महसुस भएको छ । हिउँदको समयमा पानी पर्दैन खेती स्याहार गर्दा पानी परेर बाली नोक्सानी हुने गरेको छ ।
गएको फागुन महिनामा गहुँ बाली स्याहार गर्दा ठुलो पानी परेर पाकेको गहुँ खेतमै भिजेर खेतमा उम्रने अवस्थामा पुगेको थियो । अहिले धान स्याहार गर्ने समयमा पानी पर्दा खेतमा धान डुबेको छ । जलवायु परिवर्तनका कारण मानिसलाई प्रत्यक्ष असर परेको उनको अनुभव छ ।
उनले वातावरणलाई असर गर्ने खालका काम नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । हाम्रा आनीबानी बिग्रिएका कारण वातावरणमा असर परेको उनले बुझेपछि अरूलाई पनि बुझाउन थालेकी छन् ।
नेपालमा वातावरण स्वच्छ राख्नका लागि दाङ,सल्यान र कपिलवस्तुमा काम गर्दै आएको स्वच्छ सफा नेपालले महिला समूहलाई जलवायु परिवर्तन र मानिसले गर्नुपर्ने आनीबानीका सुधार सम्बन्धी कुराहरू सिकाएपछि आमा समूहमार्फत गाउँघरमा परिवर्तन आउने परियोजना संयोजक कैलाश विक्रम शाहीले बताए ।

वातावरणलाई स्वच्छ राख्न अपनाउनु पर्ने विषय र नागरिकको भूमिका बारेमा नागरिकलाई सचेत गराउने काम गरेको बताए । उनले भने, मानिस आफैले वातावरण दूषित गराएका कारण उनीहरूलाई सचेत गराउने काम गरेको बताए ।
जलवायु प्रदूषणका कारण,असर र रोकथामका बारेमा गाउँघरका महिलाहरू विभिन्न समूहमा आबद्ध भएको हुँदा समूहमार्फत जनचेतनामूलक काम गर्न सजिलो हुने हुँदा महिला समूहलाई कार्यक्रममा समावेश गरिएको बताए ।
जल तथा मौसम विज्ञान कार्यालय भैरहवा सिनप्टिक फिल्ड केन्द्र घोराही दाङका प्रमुख श्रीया रिजालले जलवायु परिवर्तनका कारण मौसममा तापक्रम बढ्ने गरेको बताइन् । दाङमा सन् २०२४ मा १० वर्षकै बढी तापक्रम भएको बताइन् । सो वर्ष ४०डिग्री तापक्रम भएकाले गर्मी महसुस भएको बताइन् ।
तालिका नं. १.
सन २०१५ देखि २०२५ सम्म दाङको अधिकतम र न्यूनतम तापक्रमको विवरण ।

स्रोत: जल तथा मौसम विज्ञान कार्यालय भैरहवा सिनप्टिक फिल्ड केन्द्र घोराही दाङ ।
मानिसका आनीबानीले वातावरण दूषित
मानिसका व्यवहारका कारण वातावरण दूषित भएको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक प्रकाश देवकोटाले बताए । उनले भने, पछिल्लो समय मानिस अल्छी बन्दै गएका छन् सुख सुविधाको उपयोग धेरै गर्न थालेका छन् ।
पहिले गाउँघरमा विवाह,व्रतबन्ध, जन्म,मृत्यु जस्ता संस्कारमा सालको पातका दुना टपरी प्रयोग हुन्थ्यो । तर अहिले बजारमा पाइने पलस्टिक जन्य सामग्रीको प्रयोग बढेको बताए ।
वातावरण जोगाउने भन्दा जाँगर जोगाउने परिपाटीको विकास भएपछि वातावरण दूषित हुन थालेको बताए । पातको प्रयोग गरेपछि त्यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ ।
कुहिएर मल बनाउन सकिन्छ तर प्लास्टिकको प्रयोग गरेपछि व्यवस्थापन गर्न जलाउने गर्दा वातावरण दूषित हुने गरेको उनको भनाइ छ । सबैले आनीबानी सुधार गर्ने हो भने वातावरणलाई समयमा बचाउन सकिन्छ ।