© २०२३
दाङ, ३० असोज
राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय अहिले गाउँकै सफल केरा किसानका रूपमा परिचित छन्। आठ वर्षअघि उनले परिक्षणका रूपमा चार कठ्ठा जमिनमा सुरु गरेको केरा खेती अहिले दुई बिघामा विस्तार भइसकेको छ, र यस वर्षदेखि थप साढे एक बिघामा खेती विस्तार गर्ने तयारीमा छन्।
“पहिले मैले फेन्सी पसल चलाउँथे,” रोकाय भन्छन्, “तर त्यो काम छोडेर केरा खेतीमा लागेँ। यो खेतीले नाफा मात्र होइन, माटो पनि राम्रो बनाउँछ।”
रोकायले अहिले जिनाइन र मालभोग जातका केरा खेती गर्दै आएका छन्। उनका अनुसार सिसहनिया क्षेत्रमा अहिले धेरै किसानहरूले पनि केरा खेतीलाई मुख्य पेशाको रूपमा अपनाइरहेका छन्। गत वर्षसम्म व्यापार निकै उत्साहजनक थियो—एक सिजनमै चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी भएको थियो।
तर यस वर्ष परिस्थिति फरक छ। भारतीय केराले नेपाली बजार ओगटेसँगै नेपाली किसानहरू घाटामा परेका छन्। “भारतको केरा सस्तो पर्छ, त्यसैले हाम्रो केरा बिक्री नै हुन सक्दैन,” रोकाय भन्छन्, “व्यापारीले दर्जनमा २०–२५ रुपैयाँ मात्रै तोकिदिएपछि उत्पादन लागत पनि नउठ्ने अवस्था छ।”
सरकारको सहयोगप्रति उनी असन्तुष्ट छन्। “हामी किसान आफैं उत्पादन गर्छौं, मल हाल्छौं, रोग नियन्त्रण गर्छौं, बजार खोज्छौं—सबै काम आफैं गर्नुपर्छ,” उनी भन्छन्।
कृषकहरूको समस्या समाधानका लागि रोकायले केरा प्रवर्द्धन कृषक समूह पनि गठन गरेका छन्। यस समूहले नियमित रूपमा किसानबीच छलफल गरी समस्या र समाधानका उपाय खोज्ने गर्छ। रोकायले अहिले आफ्नै खेतमा तीन जनालाई स्थायी रोजगारी दिएका छन्—केरा काटछाँट, मल हाल्ने र रेखदेखका लागि।
व्यापारका हिसाबले उनीका केरा तुलसीपुर, घोराही, लमही र बुटवलसम्म पुग्छन्। व्यापारीहरू घरमै आएर खरिद गर्छन्, जसले बजारसम्मको झन्झट केही हदसम्म घटाएको छ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा करिब ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भएको छ। सो अवधिमा ९,९७३ मेट्रिक टन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनले देखाउँछ। भण्डारीका अनुसार दाङमा केराखेतीको राम्रो सम्भावना रहेको छ र पछिल्ला वर्षहरूमा किसानहरूको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ।
उनले भने, “केराको बजार राम्रो छ, माग पनि बढ्दो छ। हामी किसानलाई खेती विस्तारका लागि प्रविधिक परामर्श र अनुदान दुवै दिइरहेका छौँ।”
केरा खेतीले भानुभक्त रोकायजस्ता किसानहरूमा नयाँ आशा जगाएको छ। कठिनाइ र बजारको अनिश्चितता बीच पनि उनी भविष्यप्रति आशावादी छन्। “किसानले हार मान्नु हुँदैन,” उनी भन्छन्, “माटोले कहिल्यै धोका दिँदैन, यदि हामी मेहनत गर्न डराउँदैनौँ भने।”