© २०२३
गुल्मी, ३० भदौ ।
गुल्मीको पनाहा खोलामा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका २ को संगम स्थल पनाहा खोलामा पाँच करोड रूपैयाँको लागतमा पक्की पुल निर्माण भएको हो ।
लामो समयको प्रतिक्षापछि पनाहा खोलामा निर्माण गरिएको उक्त पक्की पुलले दुइ पालिकाका नागरिकहरूलाई आवतजावत गर्न निकै सहज बनाएको छ ।
पनाहा खोलामा पक्की पुल बनेपछि त्यस क्षेत्रका मानिसहरूलाई वारीपारी गर्नका लागि खोला तर्नुपर्ने बाध्यता टरेको छ । पक्की पुलको अभावमा त्यस क्षेत्रमा वर्षौदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
पुल निर्माण भएपछि यतिबेला बिहान बेलुका सदरमुकाम तम्घास आवतजावत गर्न सुबिधा पुगेको स्थानीय पूर्ण बहादुर श्रेष्ठले बताएका छन । सडक डिभिजन कार्यालय पाल्पाको रु. ५ करोड ६ लाख रूपैयाँको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई ३५ मिटर र चौडाई ११ मिटर रहेको छ ।
पक्की पुलबाट यतिबेला रेसुङ्गा नगरपालिकाको वडा नं. ४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्मका नागरिकहरूले प्रत्यक्ष रूपमा फाईदा लिएका छन् ।
स्थानीयलाई गाईवस्तुलाई वारीपारी गराउन, गाउँमा उत्पादिन कृषि उपजहरू बिक्रीका लागि बजारसम्म पुराउन, सवारी साधनहरू सञ्चालन गर्न र बालवालिकाहरूलाई विद्यालयसम्म आवतजावत गर्ने लगायतका कामका लागि सजिलो बनाएको स्थानीय कमला पन्थीले बताईन ।
खोलामाथि पक्की पुल नहुँदा बर्षादको समयमा मानिसहरूलाई आधा घण्टामा पुगिने ठाउँमा डेढ घण्टाकोे यात्रा गरेर जानुपर्ने बाध्यता रहेको स्थानीय टंकप्रसाद श्रेष्ठले बताए ।
“अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, बर्षादको समयमा खोला तर्दा कतै बगाउलाकी भन्ने ठूलो त्रास हटेको छ,” श्रेष्ठले भने ।
पक्की पुल निर्माण भएसँगै यात्रुहरूलाई मात्र हैन सवारी साधनहरूबाट ओहोरदोहोर गर्न र विभिन्न समानहरू ढुवानी गर्न पनि सहज बनेको छ ।
खोलामा सवारी साधन लैजाँदा पहिले जोखिम मोल्नु पर्ने र कतिपय अवस्थामा सवारी साधन बगाईदिने गर्दथ्यो । तर अहिले पुल बनेपछि उक्त जोखिम टरेपछि त्यस क्षेत्रका नागरिकहरू खुसी बनेका छन ।
महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिद्वारा निर्माण शुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो ।