© २०२३
काठमाडौं, २५ भदौ ।
जेनजी आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलिएको ूबेपत्ता ३२ जना संसद् भवनभित्र मृत फेलाू भन्ने खबर पूर्णतः असत्य भएको प्रहरीले स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सो खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, उक्त दाबी भ्रमपूर्ण र तथ्यहीन भएको उल्लेख गरेको छ । साथै, अन्य देशमा विगतमा भएको घटनाका हिंसात्मक तस्वीरहरू प्रयोग गरी नेपाली सन्दर्भमा झूटा प्रचार गरिएकोसमेत जनाएको छ ।
‘सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा फैलिएका यस्ता भ्रामक, तथ्यविहीन र भय फैलाउने सामग्रीले हालको संवेदनशील परिस्थितिमा जनमानसमा त्रास सिर्जना गर्दै स्थिति थप जटिल बनाउन सक्ने सम्भावना रहेकोले, यस्ता कार्य नगर्न सबैमा आग्रह गरिन्छ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले आम नागरिक, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यथार्थमा आधारित सूचना मात्र प्रसार–प्रचार गर्न अनुरोध गर्दै, भ्रामक सामग्रीका विरुद्ध कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।