© २०२३
नेपालगन्ज, २२ भदौ ।
बाँकेको राप्ती सोनारी ३ सिनाबासका बरघर धर्मदास थारुले जब कुष्ठ रोगको लक्षणबारे जानकारी पाए उनी झस्किए । साईनिङ अस्पताल, आई एन एफ बाँकेबाट राप्ती सोनारीका केही बरघरहरुलाई भेला गराएर कुष्ठरोगबारे जानकारी दिने क्रममा उनले आफ्नै गाउँमा एक जना वृद्ध हातका सबै औँलाहरू झरेर घाउको पीडा सहन नसकेर अन्त्यमा ज्यान गुमाएको कुरा सुनाए ।
उनले भने, “आज यहाँ बताइएका लक्षणहरू—औँलाहरू झर्ने, घाउ बल्झिने—सबै कुरा त मैले त्यही वृद्धामै देखेको थिएँ,” उनले दुःखसहित स्मरण गरे । अझै चिन्ताको कुरा, ती वृद्धका छोरामा पनि अहिले अनुहारको छाला सुन्निने, शरीरमा गिर्खा जस्ता लक्षण देखिएको धर्मदासले बताए । उनले बरघरको जिम्मेवारीबाट अब गाउँका प्रत्येक घर–घरमा यो रोगबारे चेतना फैलाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी भएका अन्य बरघरहरूले पनि आफ्ना अनुभव बाँडे । राप्ती सोनारी–५ टडुवाका बरघर ईतवारी थारुले समाजमा अझै पनि कुष्ठ रोगसँग मिल्दोजुल्दो लक्षण भएका धेरै मानिस रहेको बताए ।
तर, उनीहरू सही स्वास्थ्य संस्थामा जाँच गर्नुभन्दा धामी–झाँक्री वा घरेलु उपचारतर्फ लाग्ने गरेको गुनासो गरे। उनले भने, “अब त्यस्ता व्यक्तिलाई अनिवार्य स्वास्थ्य परीक्षणमा पठाउनेछु ।”
महिलामा भने रोगको पहिचान अझ चुनौतीपूर्ण रहेको अनुभव राप्ती सोनारी ५ ललहीकी बरघर समिति सचिव राजकुमारी थारुले सुनाइन् । उनका अनुसार, महिलाहरू प्रजनन स्वास्थ्य समस्या खुलाउनै नसक्ने वातावरणमा रहेका छन् ।
त्यसमाथि कुष्ठ रोगलाई अझै समाजले अपहेलनाको दृष्टिले हेर्ने भएकाले महिलाले रोग लुकाउने प्रवृत्ति बढी हुने बताइन् । घरपरिवार र समाजबाट अपहेलित हुने डरले कुष्ठरोगीले अझैपनि रोग लुकाउने गरेको पाईएकाले बरघरहरुमार्फत कुष्ठ रोगबारे सचेतना जगाईरहको अस्पतालले जनाएकोछ ।
साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीका अनुसार अझै पनि धेरै कुष्ठरोगीहरू परिवार र समाजबाट तिरस्कारको डरले रोग लुकाउँछन् । उनीहरू गुरुवा, धामीझाँक्री र झारफुकमै भर पर्छन् । यस्तो अवस्थामा सदियौँदेखि थारु समुदायमा गाउँ–टोलको नेतृत्व गर्दै आएका बरघरहरूलाई सचेतना फैलाउने माध्यम बनाइएको छ ।
चौधरीले भने, “बरघरले भन्नेको कुरा गाउँलेले सहजै विश्वास गर्छन्, त्यसैले उनीहरूको सक्रियता रोग पहिचानमा महत्त्वपूर्ण हुने विश्वास छ । ही विश्वासलाई आधार मानेर हामीले बरघरमार्फत सचेतना कार्यक्रम थालेका हौं ।” कुष्ठरोगबारे बाँकेको राप्ती सोनारी र बर्दियाको बाँसगढी नगरपालिकामा बरघरमार्फत सचेतना जगाउँदै आएको प्रमुख चौधरीले जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकामा साईनिङ अस्पताल, आई एन एफ बाँकाका कुष्ठरोग सहजकर्ता उपेन्द्र चौधरीले करिब ४५ जना बरघर तथा सहायक बरघरहरुलाई कुष्ठरोगको पहिचान र उपचार पद्दतीबारे बिस्तृत रुपमा जानकरी गराएका थिए ।
अस्पतालका तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बाँकेमा मात्र १७४ जना कुष्ठ रोगी पत्ता लागेका छन् । जसमध्ये ७१ जना बाँके, ४२ जना बर्दिया, ३१ जना भारतका नागरिक र बाँकी सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लाबाट आएका हुन् ।
हाल अस्पतालको वार्डमा १७ जना बिरामी उपचाररत छन् । खुला सीमा भएका कारण भारतका नागरिक पनि नेपालमै उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । यसरी नै सीमा क्षेत्रमा अझै पनि कुष्ठ रोगको उच्च जोखिम रहिरहेकाले गाउँस्तरमै सचेतना र नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
सरकारले २०३० सम्म कुष्ठरोगमुक्त नेपालको परिकल्पना गरेको छ । यसका लागि पालिकास्तरमा कुष्ठरोगको संक्रमण रोक्ने, सही निदान, उपचार र रेफरल सुविधा उपलब्ध गराउने, सम्पर्क परीक्षण प्रणालीलाई प्रभावकारी बनाउने, कुष्ठरोगसम्बन्धी औषधि तथा सामग्रीको सही सदुपयोगलगायत गरेर कुष्ठरोगमुक्त नेपाल बनाउने परिकल्पना गरिएको साईनिङ अस्पताल बाँकेका प्रमुख चौधरीले बताए ।
‘कुष्ठरोगमुक्त मुलुक निर्माणका लागि विभिन्न गतिविधि सञ्चालन गर्छाैं’ उनले भने, ‘यसमा राजनीतिक तथा अन्य क्षेत्रको पनि प्रतिबद्धता चाहिएको छ ।’
उनका अनुसार लगातार बालबालिकालाई पाँच वर्षसम्म संक्रमण रोकियो भने कुष्ठरोग निवारण भएको मानिन्छ । यस रोगले तत्कालै ज्यान नलिए पनि मानिसलाई अपंगता बनाउने भन्दै स्वास्थ्यकर्मीहरुले शरीरमा कुष्ठरोगसम्बन्धी त्यस्ता लक्षण देखिए चिकित्सकको सम्पर्कमा जानु पर्ने बताउँदै आएका छन् ।