Butwal Today

फोहोर व्यवस्थापनमा राजनीतिक अवरोध मुख्य समस्या

२९ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

भैरहवा ।  सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरको फोहोर व्यवस्थापनमा प्राविधिकभन्दा बढी राजनीतिक अवरोध रहेको बताएका छन ।

नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीले फोहोर व्यवस्थापनको विषयमा बिहीबार नगरपालिकाको ध्यानाकर्षण गराएको सन्दर्भमा प्रतिक्रिया दिँदै नगरप्रमुख खाँले जनप्रतिनिधि र राजनीतिक दलहरूको सहयोग भए समस्या समाधान गर्न कठिन नभएको बताए ।

उनले फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गरी काम अघि बढाउन खोज्दा विभिन्न बहानामा अवरोध सिर्जना गरिएको आरोप लगाए । “गाउँतर्फ फोहोर व्यवस्थापन गर्न खोज्दा मन्दिर रहेको भन्दै विरोध गरिन्छ। फोहोर व्यवस्थापन सबैको साझा आवश्यकता हो, तर यसलाई अत्यधिक राजनीतिकरण गरिएको छ,” उनले भने ।

नगरप्रमुख खाँका अनुसार फोहोरलाई वैज्ञानिक रूपमा वर्गीकरण गरेर मल, जैविक खाद तथा सीएनजी ग्यास उत्पादन गर्न सकिनेछ। यसबाट नगरलाई आर्थिक लाभ हुनुका साथै स्थानीय स्तरमा २५ देखि ५० जनासम्मले रोजगारी पाउने सम्भावना रहेको उनले बताए ।

उनले विगतमा फोहोर व्यवस्थापनका लागि छुट्टाइएको ठुलो बजेट उपयोग हुन नसकी फिर्ता गएको उल्लेख गर्दै ओमसतिया गाउँपालिकासँग जोडिएको करिब साढे ६ बिघा जग्गा यस प्रयोजनका लागि सुरक्षित गरिएको जानकारी दिए । “जग्गा व्यवस्थापन भइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पनि पूरा गरिएको छ,” उनले भने ।

नगरप्रमुख खाँका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी आवश्यक नियमावली नगरपालिकाले पारित गरिसकेको छ र परियोजना सञ्चालनका लागि टेन्डर आह्वान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । टेन्डर प्रक्रिया पूरा भएपछि सो जग्गामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र स्थापना गरी दीर्घकालीन समाधानतर्फ अघि बढिने उनले बताए ।

यसैबिच नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीले नगरमा लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । कमिटीका अध्यक्ष चक्र बहादुर थापाले समस्या समाधानका लागि सर्वपक्षीय बैठकमार्फत साझा पहल आवश्यक रहेको बताएका छन् ।

सिद्धार्थनगरमा फोहोर व्यवस्थापनको समस्या चर्किँदै जाँदा नगरपालिकाले भने राजनीतिक सहमति र सहकार्य भए दीर्घकालीन समाधान सम्भव रहेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?