© २०२३
काठमाडौँ ।
कोसी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ । कोसी प्रदेशको ओखलढुङ्गा जिल्लामा पनि ७ वटा गाई गोरुमा लम्पि स्किन रोगको सङ्क्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको सङ्ख्या १३ पुगेको हो ।
पछिल्लो तथ्याङ्क अनुसार कोसी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाई गोरु र राँगा भैँसीमा लम्पिस्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशु चौपाया मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
लम्पिस्किन रोग विरुद्धको खोप लगाएका पशु चौपायाहरुमा यो रोगको प्रभाव कम देखिएको र मुख्य रुपमा लम्पिस्किन रोग लागेका बाछाबाछी र पाडा पाडीहरु बढी मरेको पशु चिकित्सकहरूले बताएका छन् ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पिस्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्र मार्फत पालिकाहरूलाई वितरण गरेको छ ।
कोसी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरुलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरु निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु सङ्क्रमित रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए ।
कोसी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाई गोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैसी रहेको तथ्याङ्क छ । कोसी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पिस्किन रोगको सङ्क्रमण देखिएको छ ।
लम्पिस्किन रोगको सङ्क्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकहरूलाई पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।