© 2026
काठमाडौ, १८ भदाै ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले मलेसियाका लागि नेपाली राजदूत नेत्र प्रसाद तिम्सेनाको गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
संघले जारी गरेको विज्ञप्तिमा मिति २०७९/०२/२६ मा परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण गरिएको विधानअनुसार, राष्ट्रिय समन्वय परिषद्–मलेसियाको नवौं महाधिवेशन २०२५/०७/२७ मा वैधानिक रूपमा सम्पन्न भई सर्वसम्मतिले कार्यसमिति निर्वाचित भएको स्मरण गराइएको छ । तर, संघको विधानले तोकेको समयसीमा बाहिर आयोजित एक कार्यक्रममा राजदूतले आधिकारिक सहभागिता जनाउँदै निर्वाचित कार्यसमितिको अपहेलनापूर्ण व्यवहार देखाएको भन्दै आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “राजदूतले वैधानिक निमन्त्रणा अस्वीकार गर्नु मात्र नभई विधानविपरीत कार्यक्रमलाई समर्थन गर्नु, निर्वाचित पदाधिकारीमाथि पदको मर्यादा विपरीत आरोप लगाउनु र सर्वोच्चमा विचाराधीन मुद्दाको अपहेलनासमेत गर्नु गैरजिम्मेवार र निन्दनीय कार्य हो ।”
संघले यस्तो कदमले विश्वभरिका गैरआवासीय नेपालीबीचको एकता, विश्वास र संस्थागत गरिमामा गम्भीर चोट पुर्याएको आरोप लगाएको छ । साथै, भविष्यमा यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन प्रधानमन्त्री कार्यालय र सम्बन्धित निकायसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको छ ।
संघले विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्नुपर्ने बेलामा नेपालका जिम्मेवार नेताहरू समेत विभाजनकारी कार्यक्रममा सहभागी भएकोप्रति दुःख प्रकट गरेको छ ।