© २०२३
अत्यधिक गर्मीले पानीको अक्सिजन कम भइ माछा मर्न थालेपछि ब्लोअर प्रविधि जडान गरिएको हो ।
यस प्रविधिको लागत करिब १ लाख रुपैयाँ, तर लाखौँको माछा जोगिएको अनुभव ।
नेपालमै बैखी माछा उत्पादन सम्भव रहेको प्रमाणित, भारतको आयात प्रतिस्थापन गर्ने लक्ष्य ।
नवलपरासी, १३ साउन ।
अत्यधिक गर्मीले पोखरीका माछा मर्न थालेपछि जिल्लाको एकवा मत्स्य रिसर्च प्रालि प्रतापपुर–१ ले नयाँ प्रविधिको जडान गरी माछा जोगाउन सफल भएको जनाएको छ ।
पानीमा अक्सिजन मिसाउने मेसिन (ब्लोअर) जडान गरी माछा पोखरीलाई सुरक्षित गरिएको जनाएको हो । मत्स्यपालन क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान गर्दै आएको सो प्रालिका सञ्चालक भवानीशंकर यादवले अहिले यो ब्लोअरले ठुलो राहत पु¥याएको जनाए । एक लाखको लगानीमा अहिले यो ब्लोअर प्लान्ट जडान गरियो, उनले भने–‘यसले लाखौँको माछा मर्नबाट जोगाउन सफलता दियो ।
ब्लोअरले निरन्तर पोखरीमा अक्सिजन प्रवाह हुने हुँदा माछाको सुरक्षा मात्रै नभई वृद्धि विकासमा पनि सहयोगी देखिएको छ । उनका अनुसार नेपालमा मत्स्य विज्ञहरूले प्रायः कम गहिरोको पोखरी बनाउनु सिफारिस गर्छन्, तर कम गहिराइको पोखरीले गर्मियाममा पोखरीको पानी तातिएर पानीमा अक्सिजनको मात्रा घटिहाल्छ भन्ने कुराको मूल्याङ्कन गर्दैनन् ।
यसले गर्दा माछा किसानको लाखौँको लगानी एक दुई दिनमै माछा मरेर नोक्सानी बेहोर्नु पर्ने अवस्था आउँछ । तर अहिले आफूले नयाँ अनुसन्धान गर्ने क्रममा पोखरी गहिरो बनाउने र गहिराइसम्म अक्सिजन प्रवाह गर्न सक्ने उपकरणको जडान गर्न सकियो भने ठुलो लाभ लिन सक्ने अनुभव प्राप्त भएको उनको भनाइ थियो ।
‘गहिरो पानीमा अक्सिजन र प्रकाशको समस्या हुन्छ,’ उनले भने–‘तर पानीमा अक्सिजन र प्रकाशको वैकल्पिक व्यवस्थापन गर्न सकिन्छ । कम गहिरो पोखरीको तापक्रम वृद्धि भयो भने तापमान नियन्त्रण गर्न जटिल छ । त्यसको एउटा मात्र विकल्प पोखरी गहिरो हुनुपर्छ । यसले कम जग्गामा गहिराई वृद्धि गरी आयतन वृद्धि हुन्छ । माछाको सङ्ख्या वृद्धि गर्न सकिन्छ । थोरै जमिनमा धेरै आम्दानी लिन सकिने आधार यो अनुसन्धानले देखायो ।’
१८ फिट गहिरो पोखरी निर्माण गरिएको जनाउँदै उनले यसले माछाका लागि सुरक्षित वासस्थान बनेको बताए । तर अक्सिजन र प्रकाशको थप व्यवस्थापन गर्न आवश्यक हुन्छ । अक्सिजन र प्रकाशको व्यवस्थापनमा यो ब्लोअर वरदान बनेको उनको भनाइ थियो । पोखरीमा अहिले नयाँ–नयाँ प्रविधि एरिएटर, फाउन्टेन एरिएटर समेत जडान गरिएको उनले बताए ।
सरकारले यी नयाँ प्रविधिमा माछा कृषकलाई सहयोग गर्न अनुरोध गर्दै भने–‘सरकारी अनुसन्धान फितलो नै छ, अनुदान सहयोग पनि परम्परागत नै छ ।’ यसले भारतीय माछासँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई चुनौती नै भएको उनले जनाए ।
गत वर्षको अनुभव सँगाल्दै व्यवस्थित गरी माछा पालन क्षेत्रफल बिस्तार गरेको उनले जानकारी गराएका थिए । उन्नत प्रजातिका माछाले राम्रो आम्दानी गर्न सक्ने अघिल्लो वर्षको सिकाइले अहिले माछा क्षेत्रफल १६ बिघामा बिस्तार गर्दै पोखरीका लागि आवश्यक व्यवस्थित पूर्वाधार थपेको बताए ।
अहिले ४ बिघा थप गर्ने योजना उनले सुनाए । गत वर्ष प्रति कट्ठा पँगास माछा (बैखी) २० क्विन्टल उत्पादन भयो, उनले भने, अहिले अझै प्रविधि र वैज्ञानिक विधि अपनाइएको छ, प्रति क्विन्टल ३५ क्विन्टल उत्पादन लिइने लक्ष्य छ । चैत महिनामा प्रति केजी भुरामा १ सय ८७ वटा थिए, अहिले चार महिनामा दुई वटा पिस मात्रै एक केजी हुन थालेको छ ।
तीन महिनामा एक पिस माछा एक केजी भन्दा बढी हुने आशा गरिएको छ ।नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी (पँगास) माछाको माग बढी हुने हुँदा सो माछा नेपालमै उत्पादन गरी नेपाली बजारमा आपूर्ति गर्ने गरी कृषक यादवले परिक्षण स्वरूप बैखी माछाको पालन सुरु गरेका थिए ।
सो प्रजातीको माछा थोरै क्षेत्रफलमा बढी आम्दानी भइरहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात् अहिले त्यसको क्षेत्रफल बिस्तार गर्न लागिएको सुनाए । नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ, भन्ने गर्थे, उनले आफ्नो अनुभव सुनाउँदै भने, तर गरेपछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिँदो रहेछ ।
तर माछाको बजारमा केही माछा व्यापारीको एकाधिकार हुँदा बजारको समस्याले यहाँका कृषि प्राविधिकहरूले माछा किसानलाई पँजास माछाका लागि प्रायः सिफारिस नगर्ने गरेका छन् । समस्या उत्पादनको छैन, बजारको पनि छैन, उनले थपे, समस्या बजारमा एकाधिकारको छ । त्यो पनि सबै भन्दा बढी माछा खपत हुने काठमाडौँको कालीमाटीमा रहेको देखियो ।
तर विभिन्न सङ्घर्षपछि कालीमाटीका व्यापारीले नेपालमा उत्पादित माछा पनि खरिद गर्ने अवस्थामा आएको उनले सुनाए । समस्याबाट भाग्ने होइन, समस्याको समाधान खोज्नतिर लागियो भने विकल्प भेटिन्छ नै, त्यही भएर अब आफूले फेरी क्षेत्रफल बिस्तार गरी सो माछा पालन गर्ने योजना अगाडि सारेको सुनाए । पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर (हार्वेस्ट) गरेर बिक्री गर्न सजिलो छैन ।
एकै पटक पोखरी भरिकै माछा मार्नुपर्छ, किन भने ती माछा बढी संवेदनशील हुन्छन् । पोखरीका एक/दुई वटा माछा मारियो भने बचेका माछा दाना नै नखाने हुँदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए । त्यसैले ठुलो माछा एकै पटक खपत गर्नका लागि ठुलो बजार चाहिन्छ । त्यो बजार भने काठमाडौँ, पोखरा, नारायणघाट जस्ता बजार हुन् ।
तर त्यहाँ भारतबाट तस्करी गरी ल्याईने माछाको हालीमुहाली हुँदा नेपाली किसानले उत्पादन गरेको माछाले प्रवेश नै नपाउने अवस्था थियो । तर अहिले कृषि मन्त्रालयसम्म नै त्यसको समाधानका लागि सङ्घर्ष गर्दा समाधान भेटियो । गत वर्ष डेढ करोडको माछा बिक्री पनि गरियो ।