© २०२३
बुटवल ।
दाउन्ने–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको धेरै समय बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा स्थानीय नागरिक र व्यवसायीहरू गम्भीर सास्तीमा परेका छन्। यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन् भने सडक छेउका व्यवसायीहरू वर्षायाममा हिलो र हिउँदमा धुलोको मारमा परेका छन्। सडक विस्तारमा ढिलाइ हुँदा यहाँका होटल र व्यापारिक गतिविधिमा समेत व्यापक असर परेको छ।
राजमार्ग छेउमै होटल सञ्चालन गर्दै आएका पदमबहादुर पोखरेलले पाँच–सात वर्षदेखि धुलो, हिलो र प्रदूषण सहेर व्यापार चलाइरहेको बताए। पहिले चहलपहल धेरै हुने होटल अहिले सुनसान बनेको उनले दुःखेसो गरे। ‘मान्छे गनिसाध्यै नहुनेगरी आउँथे, अहिले त बाटोमै सन्नाटा छ,’ पोखरेलले भने।
यस्तै, निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले राज्यले समयमा पूर्वाधार तयार नगरेकाले निर्माण कार्य ढिलो भएको बताए। ‘व्यवसायीका आ-आफ्नै समस्या छन्, तर राज्यले गर्ने काम नगर्दा उनीहरू झन् समस्यामा परेका छन्,’ उनले भने। राज्यले आवश्यक पूर्वाधार नदिँदा सडक विस्तारमा ढिलाइ भएको र त्यसको सीधा असर सर्वसाधारण र व्यवसायीमाथि परेको उनको भनाइ छ।
उनले निर्माण कार्य छिटो सक्नका लागि आवश्यक वातावरण तयार पार्न आग्रह गरे। सडक विस्तारको गति यथास्थितिमा रहेमा अझै समय लाग्ने देखिन्छ भने जनजीवन झन् कठिन बन्ने संकेत देखिन थालेको छ।