Butwal Today

कर्मचारी सरुवा प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै माओवादी 

२९ असार २०८२, आइतबार
अ+
अ-

 काठमाडौं ।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले कर्मचारी सरुवामा मन्त्रीस्तरमै ‘घुस डिल’ भएको भन्ने समाचारबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी शर्माले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले ७८ लाख रुपैयाँमा सरुवा डिल गरेको भन्दै सार्वजनिक भएका समाचारप्रति संसदमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।

“यो विषयको गम्भीर छानबिन होस् र दोषी जो भए पनि कडाभन्दा कडा कारबाही होस्,” भन्दै उनले चेतावनी दिइन्, “अन्यथा सरकारको एक वर्षको उपलब्धि यही ‘घुस प्रकरण’ बन्नेछ।”

सांसद शर्माले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमामा रेफरल केन्द्र बनाउने निर्णयप्रति पनि आपत्ति जनाउँदै सरकारलाई तुरुन्त निर्णय सच्याउन आग्रह गरिन्।

“आफ्नो जिल्लाको अस्पताल छोडेर २५ किलोमिटर टाढा जानुपर्ने अवस्था बनाउनु बीमित बिरामीप्रति अन्याय हो,” उनले भनिन्। त्यस्तै, काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटनामा परेको खबरप्रति दुख व्यक्त गर्दै घाइतेहरूको उपचारका लागि सरकारको विशेष ध्यानाकर्षण पनि गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?