© २०२३
असार २९, झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे फैलिएको आलोचना र अफवाहलाई “झुटो र घटिया प्रचार” भन्दै खण्डन गरेका छन्। झापाको दमकमा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले भ्रमण सफल रहेको भए पनि केही विरोधी र अराजक तत्वहरूले “स्पेनमा मान्छे छाडेर आएको” जस्ता असत्य कुरा फैलाएको आरोप लगाए। यस्ता विषयमा आफूले जवाफ दिन आवश्यक नदेखेको प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले उद्घाटन गरेको ४.८६ किलोमिटर सडक ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्माण भएको हो। विश्व बैंकको सहयोगमा सम्पन्न आयोजना नेपालका १७ विशेष सडकमध्ये एक हो र समयमै सम्पन्न भएकाले नमुना आयोजनाको रूपमा लिइएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभर विकासको लहर फैलाउने अभियानमा सरकार लागिरहेको बताए। दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा गर्दै उनले शिक्षा क्षेत्रमा पनि सुधार भइरहेको उल्लेख गरे। स्वयंसेवी भावनासाथ सञ्चालित अनलाइन कक्षाले यस वर्षको एसईई नतिजामा १३ प्रतिशत सुधार आएको दाबी गरे।