© २०२३
काठमाडौं ।
लामो समयदेखि वाम एकताको प्रयासमा सक्रिय रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने भएका छन्। साउन २ गते राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी दुई संगठनबीचको एकता औपचारिक घोषणा गरिनेछ।
यससम्बन्धी सहमतिपत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र बामदेव गौतमले हस्ताक्षर गरेका छन्। सहमतिमा दुबै पक्षको राजनीतिक सिद्धान्त मिल्दो रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख छ।
पूर्व नेकपा एमाले र माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले विघटन गरेपछि गौतमले २५ पुसमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरेका थिए। सुरुवातमा एमाले फर्कन चाहेपनि अध्यक्ष केपी शर्मा ओलीको असहमतिको कारण उनी रोकिएका थिए। अहिले भने उनले ओली नेतृत्वको पार्टीबाट छुट्टिएको माधव नेपालको नेतृत्व स्वीकार गरेका छन्।

पार्टी भित्रको शक्ति सन्तुलनको विषयमा हालैसम्म छलफल चलिरहेको थियो। स्रोतका अनुसार, एकीकृत समाजवादीमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछि बामदेव गौतम तेस्रो वरीयतामा रहनेछन्। त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो स्थानमा रहने प्रारम्भिक समझदारी बनेको बताइएको छ।
गौतमले विगतमा ‘जसले अध्यक्ष दिन्छ, म त्यतै जान्छु’ भन्ने अभिव्यक्तिसहित विभिन्न वाम नेताहरूसँग सम्वाद जारी राखेका थिए। अन्ततः उनले माधव नेपालको नेतृत्वमा रहेको पार्टी रोजेका छन्, जुन ओली नेतृत्वको एमालेविरुद्ध जन्मिएको संगठन हो।
साउन २ को एकता घोषणापछि एकीकृत समाजवादीको राजनीतिक हैसियत र वाम आन्दोलनमा यसको प्रभावबारे थप बहस चल्ने अनुमान गरिएको छ।