© २०२३
काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीका कारण समस्या परेका ४८५ जनालाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ। बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर ती व्यक्तिहरूलाई उद्धार गरेको हो।
सशस्त्र प्रहरीका अनुसार, भन्सार कार्यालय यार्डमा फसेका दुई वटा कन्टेनर र एउटा विद्युतीय गाडी पनि सुरक्षित ठाउँमा सारिएको छ। बाढीमा हालसम्म ९ जनाको ज्यान गएको छ। तीमध्ये ४ जनाको शव र ५ वटा मानव अङ्गमात्र फेला परेको छ। साथै, तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी २० जना बेपत्ता छन् र उनीहरूको खोजी जारी छ।
ल्हेन्दे खोलाबाट आएको लेदोयुक्त बाढीले भोटेकोशी नदीमा मिसिँदा रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ र नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध छ। बाढीले जोखिममा पर्न पुगेका १ सय ६५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।