काठमाडौँ ।
नेपाली कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले पार्टीको अनुशासन समितिद्वारा २३ नेतामाथि गरिएको कारबाहीको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ। बुधबार बिहान डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले अनुशासन समितिले पार्टी नियमावली विपरीत एकपक्षीय ढंगले निर्णय गरेको ठहर गर्दै सो निर्णय नमान्ने बताएको हो।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमसहित काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।
नेता सञ्जय गौतमका अनुसार, “कारबाही विधान विपरीत र एकातर्फी भएको निष्कर्षमा हामी पुगेका छौँ। सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अघि नबढाउन आग्रह गर्ने निर्णय गरेका छौँ।”
बैठकले कारबाहीमा परेकालाई अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने अडान राखेको छ। साथै, अनुशासन समितिको निर्णयको राजनीतिक रूपमा प्रतिरोध गर्ने तयारीसमेत गरिएको गौतमले बताएका छन्।
बैठकमा उपसभापति धनराज गुरुङले, सभापति देउवा, उपसभापति र महामन्त्रीहरूबीच अनुशासन समितिको फाइल हाललाई रोक्ने सहमति भएको भए पनि, संयोजक आनन्द ढुङ्गानाले समितिमा छलफल नगरी एकतर्फी रूपमा विज्ञप्ति जारी गरेर कारबाही अघि बढाएको आरोप लगाए।
इतर समूहले कारबाहीलाई अनुचित र गम्भीर राजनीतिक संकेतका रूपमा लिँदै, त्यसको असर पार्टीको एकता र आन्तरिक लोकतन्त्रमा पर्ने चेतावनी दिएको छ।



