Butwal Today

उपनिर्वाचनका लागि रास्वपाको तयारी सुरु, चुनावी कमाण्ड विपिन आचार्यलाई

२६ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कार्तिक १७ गते हुने रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि सम्पूर्ण कार्यको नेतृत्व सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई दिने निर्णय गरेको छ।

पार्टी सचिवालयको असार २५ गते बसेको बैठकले आचार्यलाई चुनावी कमाण्डर बनाउँदै, उपनिर्वाचनका लागि आवश्यक तयारीको जिम्मेवारी दिने निर्णय गरेको हो। साथै, बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै, उक्त कार्यविधि केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाउने निर्णय पनि गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, रास्वपाले छिट्टै उम्मेदवार बन्न इच्छुकहरूबाट आवेदन आह्वान गर्नेछ। प्राप्त आवेदनहरूको मूल्यांकन गरी स्वीकृत कार्यविधिअनुसार उम्मेदवार चयन प्रक्रिया अघि बढाइनेछ।

उक्त निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने प्रणाली’ लागू हुने भएकाले सो अनुसार तयारी अघि बढाइनेछ। पार्टीले उपनिर्वाचनलाई लक्षित गर्दै संगठनात्मक र रणनीतिक तयारी तीव्र बनाउने संकेत दिएको छ।