© २०२३
काठमाडौँ ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधित स्वरूपमा प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्दै विधेयकलाई अघि बढाएको हो।
मंगलबार राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिए। जवाफपछि सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो।
अब सभामुख घिमिरेले संशोधित विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन्। राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विधेयक राजपत्रमा प्रकाशित हुनेछ र त्यसपछि मात्र कानूनको रूप लिनेछ।
यस विधेयकलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ फागुन १२ गते संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए। २०८० वैशाख १५ गते दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको यो विधेयक २०८१ जेठ १७ गते समितिबाट प्रतिवेदनसहित प्रतिनिधिसभामा फर्काइएको थियो। प्रतिनिधिसभाबाट २०८१ चैत १८ गते पारित भएर राष्ट्रियसभामा गएको विधेयक राष्ट्रियसभाबाट २०८२ जेठ ३० गते संशोधनसहित फिर्ता आएको हो।