© २०२३
काठमाडौं, २४ असार।
रसुवाको टिमुरे क्षेत्रमा मंगलबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले मानवीय र भौतिक क्षति दुवै गराएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, भन्सार यार्डमा काम गर्ने ९ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १५ जना बेपत्ता भएका छन्।
उता उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीले बगाएको पुष्टि भएको छ। प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
बेपत्ता ९ नेपालीमध्ये अधिकांश बर्दियाका मजदुर छन् भने अन्य सिन्धुपाल्चोक, बागलुङ र अन्य जिल्लाका छन्। कन्टेनर, मिक्चर र हाइलक्स गाडी चलाउने चालकहरू पनि हराइरहेका छन्। चिनियाँ नागरिकहरूमध्ये यु युए, लि हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ को अवस्था अज्ञात छ।
यसैबीच, उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामको खोला किनारमा एक पुरुषको शव फेला परेको छ। शवको पहिचान खुल्न बाँकी छ। दाहिने खुट्टा र गुप्ताङ्ग मात्र भेटिएको बताइएको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा बिहान ३ बजेतिर बाढी पसेको हो। चीनतर्फको लगातार वर्षाका कारण आएको बाढीले नेपाल–चीनको व्यापारिक नाका जोड्ने मितेरी पुल बगाएको छ, जसका कारण बिहान ४ बजेदेखि दुई देशबीचको आवतजावत बन्द भएको छ।
त्यसैगरी गोसाइँकुण्ड–२ मा रहेको इभी चार्जिङ स्टेसनमा पार्क गरिएका ७–८ वटा गाडी बगाएका छन् भने रसुवागढी भन्सार कार्यालयको यार्ड र हाइड्रोपावर ड्याममा समेत ठूलो क्षति भएको छ।
सुरक्षाकर्मीहरू उद्धार र बेपत्ताहरूको खोजीमा खटिएका छन्। घटनास्थलमा अझै जोखिम कायम रहेकोले थप क्षतिको सम्भावनालाई नकार्न नसकिने बताइएको छ।