काठमाडौं ।
गृहमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता सम्पन्न भएको छ। गृहमन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र सहयोग विस्तारका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।

गृहमन्त्री लेखकले नेपाल–स्वीटजरल्याण्डको मैत्रीपूर्ण सम्बन्ध र नेपालको शान्ति प्रक्रिया तथा विकास निर्माणमा स्वीटजरल्याण्डले पुर्याएको सहयोगप्रति आभार प्रकट गरेका छन्।
भेटवार्तामा द्विपक्षीय आर्थिक साझेदारी, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन लगायतका विषयमा विशेष ध्यान दिइएको थियो। साथै, दुवै पक्षले अन्य आपसी चासोका विषयहरूमा पनि कुराकानी गरेका थिए। गृहमन्त्रालयका अनुसार यो भेटले दुई देशबीचको सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गरेको छ।



