© २०२३
काठमाडौं ।
विवाहित महिलाको व्यक्तित्व, आत्मविश्वास र सौन्दर्यलाई प्रोत्साहन गर्ने सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन र फिनाले मिति सार्वजनिक गर्दै प्रतियोगिताको तयारी औपचारिक रूपमा प्रारम्भ भएको घोषणा गरेको हो।
अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ भने ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिनेछ। पत्रकार सम्मेलनमा हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख अतिथिका रूपमा तथा अभिनेत्री दीपिका प्रसाईं गुडविल एम्बेस्डरका रूपमा सहभागी भए। माग्ने बुढाले क्यान्सरसँग लडिरहेकी मिसेस नेपाल २०२३ की सिता सुवेदीको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग घोषणा गरे। साथै, अन्यलाई पनि सहयोग गर्न आग्रह गरे।
घिमिरेले मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूका लागि एक प्रेरणादायी मञ्च भएको बताउँदै प्रतियोगीले आत्मविश्वास, क्षमता र पारिवारिक समर्थनको आवश्यकता हुने बताए। अभिनेत्री दीपिका प्रसाईंले प्रतियोगिता सौन्दर्यमा मात्र नभई महिलाको आत्मबल र आत्मविकासमा केन्द्रित भएको उल्लेख गरिन्।
मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डेनिला कार्कीले प्रतियोगिताले आफूलाई सकारात्मक प्रभाव पार्ने अवसर दिएको अनुभव सुनाउँदै विवाहपछि पनि अगाडि बढ्न चाहने महिलाका लागि यो राम्रो अवसर भएको बताइन्।
आयोजक निशुकान्त झाका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि कुनै उचाइ वा तौलको मापदण्ड छैन, तर न्यूनतम एसएलसी उत्तीर्ण हुनुपर्नेछ। प्रतियोगितामा एकल महिलाहरूले पनि सहभागिता जनाउन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेन्मेन्टको वेबसाइटमार्फत गर्न सकिनेछ।
प्रतियोगिता अवधिभर सहभागीलाई व्यक्तित्व विकास, आत्मविश्वास, सञ्चार सीप र प्रस्तुति कलामा विशेष प्रशिक्षण दिइनेछ। प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा, नृत्य कोरियोग्राफर सन्दीप भुजेल र सहायक कोरियोग्राफर आईना गजुरेल रहनेछन् भने समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन्।
फिनालेमा मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेताहरूको घोषणा पनि गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि जित्ने सहभागीले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।