© २०२३
काठमाडौं ।
अन्तरजातीय प्रेम कथामा आधारित नयाँ नेपाली फिल्म ‘जदौ’ मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्। शनिबार राजधानीमा आयोजना गरिएको कार्यक्रममार्फत नीति र निर्माण टिमबीच सम्झौता भएको हो। फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत हुनेछिन्।
यसअघि नै अभिनेता मुकुन भुसाललाई प्रमुख भूमिकामा अनुबन्ध गरिएको जानकारी दिइएको थियो। फिल्म ‘जदौ’ को निर्माण सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट को संयुक्त लगानीमा हुँदैछ।
फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन्। काजी लिम्बूको लेखनमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ।
दाङ र प्युठानका विभिन्न रमणीय स्थानहरूमा छायांकन हुने फिल्ममा बाबुल गिरीको संगीत रहनेछ भने प्युठानतर्फको निर्माण व्यवस्थापन लछुमन भण्डारीले सम्हाल्नेछन्।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक बिमला भण्डारीका अनुसार फिल्मका निर्देशक, बाँकी कलाकार र प्राविधिक टिमको विस्तृत जानकारी केही दिनमै सार्वजनिक गरिने छ।