© २०२३
चन्द्रौटा, २३ असार ।
इतिहास बोकेको स्थल सोनवागढ । कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरिया गाउँको हरियो जङ्गलको काख । दुई नदीको सङ्गममा रहेको सोनवागढ मन्दिर पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ । पूर्वी बह बेल र पश्चिमी सुक बेल नदीको काखमा लुकेको यो प्राचीन थलो अहिले पनि शताब्दीऔं गुप्ताकालीन गौरव झल्काइरहेको छ ।
चन्द्रौटादेखि झण्डै ८ किलोमिटर उत्तर पूर्वतिर, मैनार खोलाको झोलुङ्गे पुल वा जवई खोलाको पक्की पुल पार गरेर पुगिने सोनवागढ, सडकमार्फत सजिलै देखिने ठाउँ होइन । तर एक चोटि यहाँ पाइला टेकेपछि, हरियाली, शान्त र पुरातनताको समिश्रणले सबैलाई मन्त्रमुग्ध बनाउँछ ।
मन्दिर परिसर प्रवेश गरेपछि पुराना मूर्तिहरू—हनुमान, सिंह र हात्ती—तपाईँलाई स्वागत गर्छन् । त्यसको केही नजिकै रहेको छ सोनवागढ मन्दिर, जसको गर्भ गृहमा गोलाकार शिव लिङ्ग र भित्तामा कलात्मक चामुण्डा देवीको प्रस्तर मूर्ति छ । जसलाई श्रद्धालुहरूले वर्षौँदेखि पूजाआजा गर्दै आएका छन् ।वि.स.२०७५ सालमा लुम्बिनी विकास कोषका पुरातत्त्वविद् हिमाल उप्रेतीको टोलीले यहाँ २ वटा ट्रेन्च उत्खनन गर्दा फेला परेका वस्तुहरू—प्राचीन इँटा, माटोको भाँडो, नन्दी मूर्ति, माटोका घोडा आदिले यसलाई गुप्ताकालीन स्थल भएको प्रमाणित गरे । यी वस्तुहरू तिलौराकोट, कुदान, र लुम्बिनी क्षेत्रमा प्रयोग भएका पुरातात्त्विक सामग्रीसँग मेल खान्छन् । स्थानीय वृद्धहरूको भनाइ अनुसार जङ्गलको बिचमा फेला परेका यी मूर्तिहरूलाई नै मन्दिरमा ल्याएर स्थापना गरिएको हो ।
मन्दिरका पुजारीहरू यादव परिवारबाट चयन हुँदै आएका छन् । पहिलो पुजारी स्व. बाबा बरन यादवदेखि हालका पुजारी बाबा कोदइ यादवसम्म सबैले यस स्थललाई जीवित राख्न योगदान दिएका छन् । केही समय थारु पुजारीले समेत यहाँ सेवा गरे । हाल मन्दिरमा बलि प्रथा छैन, सोमबार विशेष पूजाआजा हुने गर्दछ । कपिलवस्तु आसपाससहित भारतबाटसमेत आउने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । साउन र चैतलगायत विजयादशमीको नवमीका दिन यहाँको भक्ति भाव झनै विशेष देखिन्छ ।
स्थानीय अगुवा हरजु थारु, सुरेश थारु र कृष्ण थारुहरूको नेतृत्वमा मन्दिर परिसरको सरसफाइ र सुरक्षा नियमित रूपमा हुँदै आएको भए पनि, नदी कटान, बिना स्वीकृति मठ–मन्दिरको निर्माण र अनियोजित व्यवस्थापनले पुरातात्त्विक वस्तुहरूमा गम्भीर खतरा निम्त्याइरहेको छ । सोनवागढ मन्दिरको दाहिनेतर्फ खुलेआकाशमुनि हालसालै नयाँ शिव लिङ्ग र बसाहा राखेर शिलान्यास गरिए पनि पुरातत्त्व विभागको स्वीकृति विना यस्ता संरचनाले प्राचीन भग्नावशेष लोप हुने खतरा बढाएको छ ।
कटानको जोखिममा रहेको सोनवागढको प्राचीन स्थल प्रख्यात छ । स्थानीय गाउँका समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरजु थारु चिन्ता व्यक्त भने: “हरेक वर्षको बाढीले मन्दिरको माटो र ढिस्को बगाउँदै लैजाँदै छ । सरकारले ढुङ्गाको पर्खाल नलगाउने हो भने ऐतिहासिक वस्तुहरू सधैँका लागि हराउने छन् । ‘केही वर्षअघि संरक्षणका लागि तार जाली लगाइए पनि त्यो पर्याप्त छैन ।’ यो स्थल केवल ऐतिहासिक नभई धार्मिक पर्यटनको दृष्टिले पनि उच्च सम्भावना बोकेको छ । व्यवस्थित प्रचार, पूर्वाधार र संरक्षणको संयोजनमा सोनवागढ कपिलवस्तुको अर्को लुम्बिनी जस्तै चिनिने स्थल बन्न सक्ने सामर्थ्य राख्छ । स्थानीय सरकारको ध्यान, सङ्घीय संरक्षण योजना र समुदायको सहयोगबाट सोनवागढको भविष्यमा नेपालकै एक उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
जहाँ इतिहास, संस्कृति र अध्यात्म एउटै थलोमा मिसिन्छन् । अहिलेको अवस्थाले यसको भविष्य अन्योलमा पारेको छ । विशेषज्ञहरू भन्छन्, “यदि समयमै संरक्षण र वैज्ञानिक उत्खनन गरियो भने सोनवागढ नेपालकै एउटा प्रमुख पुरातात्त्विक गन्तव्य बन्न सक्छ । तर ढिलो भयो भने हामी केवल त्यसको कथा मात्र बाँकी राख्नेछौँ ।” पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारबाट विगत केही वर्ष यता करोडौँ रुपैयाँ लगानी गरेको छ ।
सरकारी तबरबाट गरिएका प्रयास
प्रदेश सांसद अर्जुन कुमार केसीले नदी कटान नियन्त्रण, ट्रस निर्माण, पूर्वाधार निर्माण गरी ९५ लाख रुपैयाँ लगानी भइसकेको बताए । उनका अनुसार मन्दिर विकासमा पूर्वाधार लगायतको संरचना निर्माणका लागि प्रदेश सरकारबाटै आगामी आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । भितरिया, सोनवागढ लक्षित गरी मैनार खोलमा १२ करोडको लागतमा पक्की पुलको निर्माण कार्य सुरु भइसकेको सांसद केसीको भनाइ छ । जुन निर्माण कार्य बहुबर्षिय योजनामा छ ।
अर्जुन कुमार केसी
प्रदेश सांसद
यता वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले स्थानीय पर्यटकीय गन्तव्य सोनवागढलाई विकास गर्न आवश्यक रहेको बताए । प्रदेश सरकारको १० लाखको लागतमा निर्माण भइरहेको नयाँ मन्दिरले यहाँको सुन्दरता बढाउने उनले विश्वास व्यक्त गरे । प्रभावकारी रूपमा पर्यटकीय गन्तव्यको विकास गर्न पहिलो चरणको डिपिआरको कार्य समेत सकिएको सापकोटाले जनाए ।
आर्थिक वर्ष २०८२/०८३ का लागि स्थानीय नगरपालिकाबाट ५ लाख र वडा कार्यालयबाट २ लाख रूपैया विनियोजन गरिएको छ । यो बजेट विनियोजन गरिएको भए पनि स्थानीय पालिका भित्रै पर्यटकीय स्थलको हिसाबले सोनवाढमा विभेदपूर्ण बजेट रहेको बताउँदै उपेक्षित गरिएको स्थानीय अगुवा बताउँछन् । प्रचारप्रसारको अभावले सोनवागढ ओझेलमा परेको स्थानीय हिरालाल थारुले बताए ।