© २०२३
बुटवल, २२ असार ।
गणेश बहादुर विश्वकर्माको पुर्ख्यौली घर पाल्पा हो । बुवाको जन्मथलो पाल्पा भए पनि उनी भने बुटवलमा नै जन्मे हुर्के । ८ वर्षको उमेरमा बुबा गुमाए । आमाको शाहरामा बुटवलमा हुर्के । पुर्ख्यौलीमा उनीहरूको आरन पेसा थियो । उनी त्यहाँ, बुवा बितेपछि खाली रहेको आरन पेसा उनले सम्हाल्ने कोसिस गरे । पेन्टरमा सौखिन हुन, त्यो काममा व्यस्त हुने । वि.सं. २०६० सालको कुरा हो, साथीसँग साइकलमा बसेको बेला बुटवल नयाँ बसपार्क ईट्टाभट्टी पछाडि रहेको नालीको बाटो हुँदै जाँदा उक्त नालीमा खसे । साथीलाई केही भएन तर उनी खुट्टामा गम्भीर रोग प्रकृतिको चोट लाग्यो ।
करिब ३ महिना सम्म अस्पताल बसेपछि उनी घर फर्के तर उनको एउटा खुट्टा सधैँको लागि नमोडिने गरी बन्द भयो । मेडिकल भाषामा भन्दा उनको खुट्टा ‘सिज भयो’ । यसरी काम गर्दै जीविको पार्जन गर्दै आएका गणेश दीर्घकालीन अपाङ्गता हुन पुगे । त्यसपछि पुन सुरुवात भयो उनको दैनिकी जीविकोपार्जनको बाटो ‘आरने पेसा’ । फलाम पिटेर, हरियाँ, कुटो, दाउ, फरुवा, कोदाली, सहित चिम्टा, चुलेसी बनाउने काममा उनी लागे । दीर्घकालीन रूपमा अपाङ्गता भएको कारण उनले सुरुवाती दिनमा त पछुतो थियो, अब कसरी खाने, के गर्ने, हिँड डुल गर्न पनि सकिँदैन, समस्या थियो । तर पछि हिम्मतलाई अवसरमा मोडेल उनले परम्परागत पेसालाई व्यवसायीकतामा जोडेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ५ सौभाग्य नगरमा बस्दै आएका गणेशले त्यहाँ नै गणेश औजार उद्योग सञ्चालनमा ल्याएका छन् । जसका उनीका श्रीमती र केही कामदारले उनलाई सघाउँदै आएका छन् । उद्योगमा उत्पादन भएका विभिन्न फलामे औजारहरू उनले बुटवलको हाटबजारमा बिक्री गर्दै आएका छन् । छुरा, चक्कु, कोदाली, बन्चरो, फरुवा, कोदाली सहित उनले विभिन्न किसीमा तावाल, कराई, सेल रोटी बनाउने कराई आदी बिक्री गर्दै आएका छन् । अधिकांश औजार उनी आफै बनाउँछन् भने केही आफूकहाँ मेसिन नभएको कारण अन्य साथीलाई बनाउन लगाएर बजारीकरण गर्दै आएका छन् ।
उनी भन्छन्, ‘अपाङ्गतालाई अवसरमा, सीप सँग जोड्न सकियो भने कसैकहाँ हात फैलाएर माग्न जान पर्दैन, यही पेसाबाट दुई छाक खान पुगेको छ,समस्या छैन ।’ गणेशकी श्रीमती उनको काममा सघाउँदै आएकी छिन्, उत्पादन भएका सामान बजार सम्म ल्याउने, त्यहाँबाट बचेको घर सम्म लैजाने काम श्रीमतीको सहयोगमा गर्दै आएका छन् । भने गणेशले दिनभर बजारमा बसेर सामान बिक्री गर्दै आएका छन् । ४२ वर्षका गणेश विवाह भएको लामो समय भए पनि सन्तान भने भएनन् । उनले आफूले कमाएको ८ वर्षको आम्दानीबाट बचेको सबै उद्योगमा नै लगाएका छन् । उद्योगमा चाहिने भट्टी, कच्चा पद्धार्थ खरिद देखि लिएर फलाम पगाल्ने काम र वल्डीङ्ग मेसिन, ड्रिल मेसिन, लि मेसिन खरिद गरी सञ्चालनमा ल्याएका छन् । उनले नगरपालिका बाट १ लाख ५८ हजार रुपैयाँ अनुदान समेत प्राप्त गरेका छन् । जसबाट मेसिन, उपकरण खरिद गरी आधुनिक उद्योग बनाएका हुन ।
अघिल्लो वर्ष बुटवल उपमहानगरपालिकाले उनलाई उत्कृष्ट उद्यमीको रूपमा सम्मान गरेको थियो । बुटवल उपमहानपालिकाका प्रमुख खेलराज पाण्डेय, उप प्रमुख सावित्री देवी अर्याल ले नगद सहित सम्मान गरेका थिए । उनले सम्मान पाएको तस्बिर सहितको ब्यानर आफूले सामाग्री बिक्री गर्ने स्थानमा राख्दै आएका छन् । परम्परागत पेसालाई आधुनिक तर्फ व्यवसायीकरण गरेको उनलाई नगरपालिकाले सम्मान गरेको हो ।
बुटवल उपमहानलपारिका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा आरन पेसा गर्दै आएका व्यक्तिहरूलाई प्रत्येक वर्ष ५ वटा आरनलाई ५/५ लाख रुपैयाँ अनुदान प्रदान गरी भारतमा उत्पादन भएका कृषि जन्य औजार विस्थापित गर्ने गरी काम भइरहेको बताउँछन् । उनी भन्छन्–‘हामी परम्परागत आरन पेशालाई थप आधुनिक बनाएर उनीहरूको न्यून श्रममा बढी भन्दा बढी उत्पादन गरी भारतबाट आउने ती सामग्री विस्थापित गर्ने योजना बनाएका छौ, अर्को वर्ष ५ वटालाई ५–५ लाखका दरले मेसिन उपकरण खरिदमा अनुदान दिने छौँ ।’ गत वर्ष पनि सोही अनुसार अनुदान प्रदान गर्दै आएको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।