© २०२३
हेटौंडा ।
बागमती प्रदेश सभाको बैठक ‘विशेष कारण’ भन्दै असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ। बैठक आज बिहान ११ बजे बस्ने तय भए पनि अन्तिम समयमा स्थगित गरिएको हो। यद्यपि संसद सचिवालयले स्थगनको कारण औपचारिक रूपमा खुलाएको छैन, स्रोतका अनुसार बजेटप्रति सत्तापक्षभित्रकै असन्तुष्टि र तीव्र आलोचना नै बैठक स्थगनको मुख्य कारण बनेको हो।
बुधबार बेलुका बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा पार्टीका आफ्नै सांसदहरूले बजेटप्रति गम्भीर असन्तुष्टि जनाएका थिए। मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि तीव्र आलोचना गर्दै सांसदहरूले बजेट “दलाल र बिचौलियाको प्रभावमा बनेको” आरोप समेत लगाएका छन्।
सांसदहरूका अनुसार बजेट आफ्नै जिल्लामा विनियोजन नगरी सत्ता नेताहरूको नजिकका क्षेत्रमा मात्र केन्द्रित गरिएको छ। “बिचौलियाको स्वार्थअनुसार बजेट बनाइएको छ”, कांग्रेस सांसदहरूको आरोप थियो।
त्यस्तै, बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीस्थित कावासोती नगरपालिका–२ मा पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएकोमा पनि आलोचना भएको छ। बागमती क्षेत्र बाहिरको क्षेत्रमा बजेट खर्च हुने विषयमा सांसदहरूले आपत्ति जनाएका छन्। साथै, हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्र भए पनि २० र २२ नम्बर वडालाई बजेटमा उल्लेख गरिएको विषयले पनि विरोध थप बलियो बनाएको छ।