तनहुँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन निर्धारित मितिमा – वि.सं. २०८३ मङ्सिरभित्र – सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार तनहुँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले महाधिवेशन लम्बिँदै जाँदा पार्टीलाई फाइदा नभइ क्षति हुने धारणा राखे।

उनका अनुसार २०८४ सालमा हुने आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न भइसकेको हुनुपर्ने हो, जसले पार्टीको साङ्गठनिक सुदृढीकरणलाई बल पुग्नेछ। निर्वाचनहरू तोकिएकै समयमा हुने भएकाले त्यसको तयारी सँगसँगै महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।
नेता कोइरालाले तनहुँ कांग्रेसको विगतको सशक्त साङ्गठनिक स्थिति स्मरण गराउँदै हालको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले तनहुँका नेता तथा कार्यकर्तालाई फेरि त्यही बलियो स्थितिमा फर्किन र नयाँ सोचसहित अघि बढ्न आग्रह गरे। राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि जिल्लाको राजनीतिक स्वरूपमा आएको परिवर्तनका सन्दर्भमा उनले अहिलेको नेतृत्वलाई जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न सुझाव दिए।
सदस्यता नवीकरणका क्रममा देखिएका कमजोरीप्रति पनि कोइरालाले चासो व्यक्त गरे। उनले वडास्तरमै पुगेर कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्दै सदस्यता नवीकरण प्रक्रियामा सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याए। पार्टीभित्रको अनुशासन र एकताको पक्षमा काम गर्न उनले सबै तहका नेताहरूलाई आह्वान गरे।



