© २०२३
भैरहवा, ७ असार ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनामै मात्र ३ करोड हाराहारीको तस्करीका समान र तस्करीका लागि प्रयोग भएको साधन नियन्त्रणमा लिएको छ । जेठ महिनाको मासिक प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयका सूचना अधिकारी सुरज कार्कीले जिल्ला प्रहरी कार्यालय र यस मातहतका प्रहरी युनिटहरुबाट २ करोड ९७ लाख ६५ हजार ९ सय ३४ रुपैया बराबरको अवैध समान बरामद भएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी उपरीक्षकको रुपमा प्रदिप बहादुर क्षेत्रीले कमाण्ड लिएपछि प्रहरी तस्करी मात्र नभई तस्करीका लागि प्रयोग हुने साधन र तस्करी गर्ने व्यक्ति प्रति पनि निर्मम देखिएको छ । यसअघि बेवारिसे अवस्थामा समानहरु बरामद हुने गरेका थिए भने अहिले व्यक्ति सहित अवैध समानहरु बरामद भइरहेका छन् । सूचना अधिकारी कार्कीका अनुसार जेठ महिनामा मात्रै अवैध समानको ओसारपसार गरिरहेका ७४ वटा मोटरसाईकल, ४ वटा ट्रक, ८ वटा पिकअप र ३३ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्ता सामान, साधन र ब्यक्तिलाई भैरहवा भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय लगायतको निकायमा थप कारवाहीको लागि पठाउने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले तस्करी मात्र नभई तस्करहरुलाई पनि निरुत्साहित गर्न “प्रवृत्तिलाई हिट” गर्नै खोजेको बताए । “बेवारिसे सामान देखाएर मात्रै तस्करी नियन्त्रण हुन्छ भन्ने मलाई लागेन, त्यसकारण सामान र संलग्न व्यक्तिहरुलाई पनि कारवाहीको दायरामा ल्याएका छौं”–क्षेत्रीले भने–“समान र साधन सहित मान्छेलाई पनि कारवाही गर्दा यसले उनीहरुलाई तस्करीमा निरुत्साहित बनाउने मेरो उद्देश्य हो ।”
मानिस र कारोबारमा संलग्न साधन नै धमाधम कारवाहीको लागि पठाउन थालेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्री आफै सादा पोशाकमा बिभिन्न स्थानमा पुग्ने गरेका छन् । यसले यसअघि जिल्लाको मर्चवार, वगहा, धकधई, कालीदह लगायतका क्षेत्रहरुबाट हँुदै आएको चोरी निकासी ठप्प प्रायः रहेको छ । तस्करहरुको मनोबल खस्किएको छ ।
रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक क्षेत्री यसअघि रुपन्देहीमा प्रहरी निरीक्षकको रुपमा काम गरिसकेका छन् । यसले पनि उनलाई जिल्लाको धेरै स्थानहरुको बारेमा जानकारी छ ।
जेठ महिनामै जिल्ला प्रहरी कार्यालयले हुण्डी कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको छ । बैशाख ३१ गते सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय दिनेश बानियालाई १३ लाख ५० हजार रुपैयाँ, जेठ १ गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ बस्ने ४६ वर्षीय मसिउद्दिन फकिरलाई ३ लाख ८६ हजार २ सय रुपैयाँ र सोही दिन भारत नौतनवाका ५० वर्षीय कृष्ण अग्रहरीलाई ८ लाख ३१ हजार ४ सय ५० रुपैयाँ सहित पक्राउ गरेको थियो । यी तीन जनालाई नै प्रहरीले भैरहवाबाट पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार जेठ महिनामा १ वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएकोमा त्यो सोही महिनामा फछ्र्याैट भइसकेको छ । यसैगरी बैंकिङ्ग कसुरका ४४ वटा मुद्दा दर्ता भएकोमा ३९ वटा, ठगीका ३ वटा दर्ता भएकोमा २ वटा सहित जेठ महिनामा १७९ वटा मुद्दा दर्ता भएकोमा १०८ वटा फछ्र्याैट भएको छ ।