© २०२३
दाङ ,६ असार । अंग्रेजी वर्ष २०२५ को जनवरीदेखि दाङमा हालसम्म १ सय १४ वटा मानव अधिकार सम्बन्धी घटना भएका छन् । अनौपचाारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार, जिल्लामा विभिन्न प्रकृतिका १ सय १४ वटा मानव अधिकार सम्बन्धी घटना अभिलेख हुँदा १ सय १५ जना पीडित भएका छन् । जसमा ५६ जना महिला, २० जना पुरुष र ३९ जना बालबालिकाहरु रहेका छन् । उक्त घटनामा १ सय २१ जना पीडित रहेका इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिएका छन् ।
उनका अनुसार, अभिलेख भएका घटना मध्ये राज्य पक्षबाट ७ वटा, यौन दुव्र्यवहार, दुव्र्यवहारका समान ५–५, हत्या प्रयासका ४ वटा घटना अभिलेख भएका छन् । गैरराज्य पक्षबाट १ सय ५ र अज्ञात पक्षबाट २ वटा घटना भएका हुन् ।
यसवर्ष राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारमा उल्लेख्य सुधार हुन सकेको पनि इन्सेकले बताएको छ ।
वातावरण प्रदुषण, विपद, सडक पूर्वाधार, सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्यका अधिकारबाट नागरिक बञ्चित भएको तथा महिना दिनसम्म विद्यालय भएको, पाँच महिनासम्म विश्वविद्यालयमा तालावन्दी हुनुका साथै सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना र धुलो, धुँवा प्रदुषणका कारण नागरिकले समस्या झेल्नु परेको बताईएको छ ।
घरेलु हिंसा, बालिका बलात्कार, भ्रुण हत्या, पारिवारिक हत्या, अमानवीय व्यवहार, जनप्रतिनिधिमाथि दुव्र्यवहार, शिक्षक, विद्यार्थी र महिलामाथि दुव्र्यवहारजस्ता थुप्रै घटना हुनुले मानवअधिकारको सवलीकरणमा अझै धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ ।
कार्यक्रममा घोराहीका उपप्रमुख हुमा डिसीले कुनै पनि काम गर्दा बल प्रयोग गरेर नभई विवेकले काम गर्ने वातावरण बनाउन सके मात्रै मानव अधिकार सम्बन्धी घटनामा कमी आउने बताइन् । उनले शून्य सहनशीलताको अवधारणालाई पालना गर्न तथा लैंगिक हिंसा निवारणका लागि सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिइन् । नागरिक समाजका पूर्व संयोजक केबी मसाल, चन्द्रराज पन्त, समाजका सचिव नारायणप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, जनमोर्चाका मेघराज भट्टराई, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक रामकुमार केसी, मानव अधिकार सम्बन्धी घटना न्यूनीकरणका लागि सामाजिक सचेतना अभिवृद्धि गर्न सामुहिक प्रयास हुनुपर्ने बताए ।।।