काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न गरिएको ओभरपासको विधिवत् उद्घाटन गरेका छन्। चक्रपथ अन्तर्गतको यो संरचना सञ्चालनमा आएपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

ग्वार्को ओभरपास परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले अघि बढाएको हो। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत निर्माण प्रक्रिया सुरु गरिएको उक्त परियोजना २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौतासहित सुरु भएको थियो।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयमै काम सम्पन्न हुन सकेन। ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दै गएको र बीचमा केही महिना निर्माणसमेत ठप्प भएको कारण अन्ततः २०८१ पुस ८ गते निर्माण सम्पन्न गरिएको हो। म्याद थप र ढिलाइका कारण शुरुको अनुमानित लागतभन्दा १४ करोड रुपैयाँ बढी खर्च भएको छ। साथै, ठेकेदार कम्पनीले हर्जानास्वरूप १ करोड ४७ लाख रुपैयाँ तिर्नुपरेको छ।
निर्माणको क्रममा सातदोबाटो पक्षमा अप्रोच सडक बनाउँदा माटो असमान रूपमा थिचिएपछि काममा थप ढिलाइ भएको थियो।ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ। यसमध्ये लगनखेलतर्फको भाग ३२० मिटर र सातदोबाटोतर्फको भाग १८५ मिटर लामो छ। र्याम्पको दूरी १०.२ मिटर रहेको छ भने दुवैतर्फ चार तहको कालोपत्र गरिएको छ।
निर्माण सम्पन्न भएपछिको सम्झौताअनुसार निर्माण कार्यमा पाँच वर्ष र डिजाइनमा १० वर्षभित्र देखिने त्रुटि ठेकेदारले आफैं सुधार गर्नुपर्ने प्रावधान रहेको छ।यो ओभरपासको उद्घाटनसँगै उपत्यकाको व्यस्त सडकमध्ये एक रहेको ग्वार्को क्षेत्रमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।



