Butwal Today

सरकारी उद्योगको घाटाबारे जवाफ दिन प्रधानमन्त्रीलाई प्रभु साहको माग

६ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ६ असार ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारी स्वामित्वमा रहेका उद्योगहरू निरन्तर घाटामा जानुको कारण खोज्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको आर्थिक नीतिमा द्वैध सोच रहेको आरोप लगाए।

साहले भने, “सरकारी उद्योगहरू घाटामा छन् — ट्रेन घाटामा छ, प्लेन घाटामा छ। तर निजी क्षेत्र भने फस्टाइरहेका छन्।” यस्ता उदाहरणहरू देशमा कुशासन र लुटतन्त्र कायम रहेको संकेत भएको उनको तर्क थियो।

उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा सम्बोधन गर्दै भने, “सरकारी उद्योग घाटामा जानु लुट होइन भने सुशासनको परिणाम के हो? यदि तपाईंको शासनमा सरकारी उद्योगलाई नाफामा लैजान सकिँदैन भने जनतासँग कर उठाउने नैतिक अधिकार पनि छैन।”

प्रधानमन्त्रीलाई उनले चित्त बुझ्दो जवाफ दिन वा राजीनामा दिन सुझावसमेत दिए। “यदि तपाईं सक्नुहुन्न भने रेस्ट लिनुस्, जनताले कर तिर्न रोकिन्छ,” साहको कडा टिप्पणी थियो। सांसद साहको यो भनाइ सरकारप्रतिको असन्तोष र पारदर्शी तथा उत्तरदायी शासनको मागको रूपमा आएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?